‘गौरवका आयोजनाले देश समृद्ध बन्छ’ : पूर्व मन्त्री बास्कोटा 

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे

संचार तथा सूचना प्रबिधि मन्त्रि एवं नेकपा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले सरकारले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई तिब्र बनाउँदै विकासलाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।

‘घर घर विकास असम्भव होला तर विकासले घर घरलाई फाईदा पुर्‍याउने छ’– पुर्व मन्त्री बास्कोटाले भन्नुभयो –‘चालु वर्षमा संचालन भईरहेका र आगामी वर्षका लागि विनियोजन भएका राष्ट्रिय गौरवका आयोजनाहरुले जिल्लाको विकासमा फड्को मार्नेछ ।’ बनेपा नगरपालिका वडा नम्वर १ को वडा कार्यालयको भवन शिल्यान्यास, चण्डेश्वरी माध्यमिक विद्यालय बनेपा ४ को विद्यालयमा निर्माण गरिएको कम्प्युटर ल्यावको उद्घाटन र बनेपा नाला काशिभज्याङ्ग सडकमा निर्माण भएको महादेव खोला सडक पुलको उद्घाटन कार्यक्रममा पुर्व मन्त्री बास्कोटाले मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय, बनेपा, पनौती धुलिखेल नगरपालिकामा पुण्यमाता करिडोर, पाँचखालमा खानेपानी, सिंचाई आयोजना, मण्डन, नमोबुद्ध नगरपालिकामा खानेपानी आयोजना, ललितपुरको ग्वार्काे देखि रोशीको कटुञ्जेसम्मको सडकलाई राष्ट्रिय राजमार्ग, धुलिखेलसम्मको सडक ६ लेन तथा अन्य आयोजनाहरुका लागि बजेट विनियोजन गरिएको बताउनु भयो । गौरवका आयोजनाले जिल्लालाई समृद्ध बनाउँने पुर्व मन्त्री बास्कोटाले बताउनु भयो ।

बनेपा नगरपालिका वडा नम्वर १ को वडा कार्यालय भवन ७० लाख रुपैयामा निर्माण हुनेछ । वडा अध्यक्ष पिताम्बर दुलालले तीन तल्ले भवन निर्माणको कार्य उपभोक्ता समिति मार्फत हुने बताउनु भयो । भवन निर्माण समितिका अध्यक्ष भगवान महतले निर्माण कार्य समयमै सम्पन्न गर्ने बताउनु भयो । चण्डेश्वरी मावीमा निर्माण भएको कम्प्युटर ल्याब जस्तै जिल्लामा ९६ वटा विद्यालयमा निर्माण गरिएको छ । सूचना तथा संचार प्रविधि मन्त्री हुँदा बास्कोटाले मन्त्रालय मार्फत देशभरका सामुदायिक विद्यालयमा सूचना प्रविधिलाई सहज बनाउने उदेश्यले विद्यालयमा निशुल्क इन्टरनेट र कम्प्युटर ल्याब निर्माण गर्ने निर्णय गर्नु भएको थियो । ल्याबमा २४ वटा कम्प्युटर, ब्याकअप सहितको संरचना निर्माण गरिएको छ । गाउँपालिका र वडा कार्यालयहरु, विद्यालयहरुमा निशुल्क वाईफाई पुर्व मन्त्री बास्कोटाले नै शुरु गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

महादेवखोला सडक पुल २०७६ असार २३ गते शुरु भई २०७७ जेष्ठ १२ गते सम्पन्न भएको थियो । समयावधी अगाबै पुल निर्माण सम्पन्न भएकोमा स्थानीय तथा पुर्व मन्त्री बास्कोटाले निर्माण कम्पनीलाई धन्यवाद दिनु भएको थियो । ६ मिटर लम्बाईको पुल ६५ लाख ८२ हजार १ सय ४४ रुपैयामा सम्झौता भए पनि ६३ लाख २७ हजार ६ सय ६२ रुपैयामा निर्माण सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रुमख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्षहरु पिताम्बर दुलाल, हरिशरण घिमिरे, कृष्णप्रसाद दाहाल, श्यामसुन्दर श्रेष्ठ, बलराम अधिकारी, सचितानन्द केसी, वर्ण शाक्य, चन्द्रबहादुर खड्का, शिवकुमार थापा, सुर्यनारायण नापित लगायतको सहभागिता रहेको थियो । जिसस सदस्य विकास मंग्राति, कार्यपालिका सदस्य ज्योति बोगटी, प्रमिला पाण्डे लगायतको सहभागिता रहेको थियो ।