तनहुँका स्थानीय तहले किन्ने भयो पीसीआर मेसिन

0
Shares

मिला दरै, तनहुँ ।

सरकारले क्वारेन्टाइनमा बसेकालाई परीक्षण नगरी घर पठाउने निर्णय गरेपश्चात् तनहुँका स्थानीय तहले पिसीआर मेसिन खरिद गर्ने भएको छ । तनहुँका १० वटै स्थानीय तहको समन्वयमा कोभिड १९ को परीक्षणका लागि पिसीआर मेसिने खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहले आफ्नै लगानीमा कोराना परीक्षणका लागि पीसीआर मेसिन खरीद गर्ने भएको हो ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा बिहीबार बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले सो निर्णय गरेको हो । सरकारद्वारा कोरोनाको परीक्षणमा ढिलाई र क्वारेन्टाइनमा बसेकालाई कोरोना परीक्षण नगरी घर पठाउने मन्त्रालयको निर्देश भएपछि स्थानीय तहले आफ्नै लगानीमा मेसिन खरिद गरी परीक्षण गराएपश्चात् घर पठाउने वातावरण सिर्जना गर्ने तयारीका साथ यो निर्णय गरिएको हो ।

तनहुँका १० वटा स्थानीय तहले संयुक्त रुपमा पीसीआर मेसिन खरीद गर्ने निर्णय गरेका हुन् । ‘सरकारले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई पिसिआर परीक्षण नगरी घर पठाउने निर्देश गरेको छ, जिल्लावासीको स्वस्थ्य सुरक्षामा जनप्रतिनिधिको जिम्मेवारी हो, त्यसैले स्थानीयवासीको कोरोना परीक्षण बिना पठाउन हाम्रो आत्माले मान्दैन र सहज बनाएर परीक्षणका लागि सो निर्णय गरेका हौं,’ गाउँपालिका अध्यक्ष रानाले भन्नुभयो ।

‘सरकार तवरबाट समयमा सबैको कोरोना परीक्षणका लागि पर्खिनुपर्ने भयो, रिपोर्ट असाध्यै ढिलो आउने रहेछ, स्वाव संकलन नै ढिलो हुने भएपछि यस्तो निर्णयमा पुगेको हो,’ उनले भनिन्, ‘क्वारेन्टाइनमा बसेकालाई परीक्षण नगरी पठाउँदा पछि भाइरस देखिने हो कि भन्ने त्रास सिर्जना भएकाले स्थानीय तहको लगानीमा मेसिन खरिद गर्ने योजना बताइएको हो ।’

शुक्लागण्डकी नगरपालिकामा पिसीआर मेसिन राखिने भएकाले १४प्रतिशत, अन्य नगरपालिकाले १२प्रतिशत, गाउँपालिकाले ९प्रतिशत लगानी गरी मेसिन खरिद गर्ने सहमति भएको छ भने देवघाट गाउँपालिका टाढा रहेको र यहाँबाट सेवा कम लिने भएपछि उक्त गाउँपालिकाले ५प्रतिशत  मात्रै लगानी गर्ने गरी निर्णय भएको छ । उक्त पीसीआर मेसिन शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा राखिने समेत निर्णय गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

पिसिआर प्रयोगशाला सञ्चालनका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशसँग समन्वय गरी माग गरिने निर्णय भएको छ । पीसीआर मेसिन खरिद सहित पूर्वाधार निर्माणका लागि एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

जिल्लाका स्थानीय तहले प्रतिशतका आधारका मेसिन खरिदमा लगानी गर्ने निर्णय गरेको छ । शुक्लागण्डकी नगरपालिकाले १४%, व्यास नगरपालिका, भानु नगरपालिका र भिमाद नगरपालिकाले १२%, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाले ९% र देवघाट गाउँपालिकाले ५% खर्च लगानी गर्ने सहमति भएको छ ।

पीसीआर मेसिन खरिद गर्न र आवश्यक पूर्वाधार निर्माणका लागि शुक्लागण्डकी नगरपालिकालाई जिम्मा दिइएको छ । सो बैठकमा भानु र भिमाद नगरपालिका बाहेकका अन्य स्थानीय तहका प्रमुखहरुको भने उपस्थिती रहेको र सो निर्णय गरिएको हो । तर फोनवार्तामा भने अनुपस्थित भएका स्थानीय तहका प्रमुखहरुले समेत सहमति जनाएका छन् ।

बैठकमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङ र देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापाको सहभागिता रहेको थियो । त्यस्तै बैठकमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीको समेत उपस्थिती रहेको थियो ।