कतारमा रहेका मकवानपुरका ३१ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

रोजगारीका लागि कतार गएका मकवानपुरेको अबस्थाबारे मकवानपुरका नेता तथा जनप्रतिनिधिले चासो नदेखाएको भन्दै मकवानपुर मिलन केन्द्र दोहाले गुनासो गरेको छ ।

कोरोना भाइरसका कारण प्रभावित बनेको कतारमा रोजगारीका सिलसिलामा गएका मकवानपुरेको अबस्थाप्रति कसैले चासो नदेखाएको अन्तर्राष्ट्रिय समन्वय परिषद् संयोजक तथा मकवानपुर मिलन केन्द्र दोहा, कतारका संरक्षक सरोज पुडासैनीले गुनासो गर्नुभयो । उहाँले मकवानपुरे आप्रवासीलाई नेताहरुले बिर्सिएको गुनासो गर्नुभयो ।

कतारमा कोरोना भाइरस संक्रमितमध्ये मकवानपुरका ३१ जना केन्द्रको सम्पर्कमा छन् । जसमध्ये २ जना संक्रमित निको भएर फर्किएका छन् । निको हुनेमा एक जना हेटौंडा–५, पिप्ले र एक जना बकैया गाउपालिका निवासी युवा रहेको केन्द्र संरक्षक पुडासैनीले जानकारी दिनुभयो ।

केन्द्रको तथ्यांकअनुसार मकवानपुरबाट कतारमा रोजगारीका लागि करिब २२ हजार छन् । कम्पनीबाट रिजाइन दिएर घर जान ठिक्क परेका हेटौंडाका ३५ वर्षीय युवा नेपालको उडान रद्ध हुँदा करिब दुई महिनादेखि कतारमा रोकिएका छन् ।

नेपालमै आफ्नो कर्म गर्ने सुनाउँदै खुशी भएका उनी घर जाने सबै तयारी गरेर अफिसियल काम सकाएर बसेका थिए । कम्पनीबाट टिकट र पासपोर्ट लिनमात्र बाँकी थियो । उनीसँग कोठामा बस्ने साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टाइन बसेर कोठामा फर्किएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण कतारमा समस्यामा परेका नेपालीको एकीकृत अभिलेखीकरण गरी समस्या समाधान गर्न नेपाली राजदुतावास दोहा, कतारले पहिलो चरणमा अप्रिल २३ मा दर्ता फाराम सार्वजनिक गरेपछि हेटौंडाका युवाले घर जान पाउँ भन्दै फाराम भरेका थिए । जून ४ मा घर फर्कन चाहनेले फाराम भर्न भन्दै दर्ता फाराम भर्न भनिएपछि घर जाने आशामा उनले त्यो पनि हतारहतार भरेर भ्याएका थिए । हेटौंडेली युवा नेपाल जाने उडान रद्ध हुँदा दुई महिनादेखि कोठामै बसेर बेलाबेला दुतावासमा फोन गर्दै घर जाने दिन सोधिरहेका छन् ।

सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्काल उद्धार गर्नुपर्ने नागरिकको सूची तय गरेको छ । नेपाली दुतावास र नियोगहरुबाट प्राप्त विवरणअनुसार कतारबाट पहिलो प्राथमिकताका आधारमा ३ हजार ६ सय ८ जना उद्धार गर्नुपर्ने सूचीमा छन् ।

कतार सरकारले कुन देशका संक्रमित नागरिकबारे सार्वजनिक गरेको छैन । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि २० मार्च अर्थात् चैत ७ गते शुक्रबारबाट युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानसहित ५५ देशबाट नेपाल आउन रोक लगाएको थियो । हाल कतारमा करिब ३ लाख ५१ हजार नेपाली कार्यरत् रहेको बताइन्छ ।