मकवानपुका पत्रकारको कोरोना र दुर्घटना बिमा

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल पत्रकार महासंघ मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा १ सय ६३ पत्रकारको कोरोना र दुर्घटना बिमा गरेको छ ।

उपमहानगरपालिका मेयर हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंलाई बिमा पोलिसीपत्र हस्तान्तरण गर्नुभयो । मेयर महतले पत्रकारका लागि संस्थागतरुपमा जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । मिडिया हाउस र पत्रकार संकटमा परेको समयमा स्थानीय सरकारले सहयोग गरेको मेयर महतले बताउनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) को त्रासबीच अग्रपंक्तिमा खटिएका पत्रकारको एक लाखको कोरोना बिमा र दुई लाख रुपियाँका दरले दुर्घटना बिमा गरिएको हो । कोरोना बिमाका लागि पत्रकार महासंघ मकवानपुरलाई उपमहानगरपालिकाले एक लाख ५० हजार रुपियाँ सहयोग गरेको थियो ।

लकडाउनको समयमा पनि त्रास बेहोर्दै अग्रपंत्तिमा खटिएका एक सय ६३ पत्रकारको कोरोना र दुर्घटना बिमा गरिएको नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हुमागाईंले बताउनुभयो । महासंघ मकवानपुरका सदस्य १ सय ३ जना र नयाँ सदस्यताका लागि सिफारिस ६० पत्रकारको बिमा गरिएको अध्यक्ष हुमागाईंले जानकारी दिनुभयो ।

एक पत्रकारको तीन लाख रुपियाँका दरले बिमा गरिएको हो । बीमित पत्रकारमा कोरोना भाइरस पुष्टि भए एक लाख रुपियाँ र दुर्घटनामा परेर पत्रकार घाइते भए २० हजार रुपियाँसम्म उपचार खर्च र मृत्यु भए दुई लाख रुपियाँ प्राप्त गर्ने बिमा कम्पनीले जनाएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीमार्फत् बिमा गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाले केही महिनाअघि पत्रकार महासंघ मकवानपुरले स्थापना गरेको उपचार कोषमा चार लाख सहयोग गरेको थियो भने गत आर्थिक वर्षमा उपमहानगरपालिकाले महासंघको कार्यालयमा पुस्तकालय निर्माणका लागि पनि सहयोग गरेको थियो ।