धमाधम पार्क, कृषकलाई औजार

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

लकडाउनका बीच धुलिखेल नगरपालिकाले नगर भित्र धमाधम पार्क निर्माण कार्यलाई तिब्र बनाएको छ ।

प्रत्येक वर्ष नगरपालिकाले एक वडा एक पार्क र नगरस्तरीय पार्क निर्माण गर्ने कार्यलाई तिब्रता दिदै आएको छ । पाँच वर्षमा ६५ वटा पार्क निर्माण गर्ने योजना अनुसार नगरपालिकाले ४० वटा भन्दा धेरै पार्क निर्माण गरिसकेको छ ।

धुलिखेललाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न हरेक वडामा कम्तिमा पाँचवटा पार्क निर्माण गर्ने, नगर स्तरीय पाँचवटा पार्क निर्माण गर्ने र बालबालिकाहरुका लागि बाल उद्यान पार्क निर्माण गर्ने कार्यलाई तिब्र बनाईएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो । पार्कहरुलाई ईतिहास, धार्मिक, साहित्य, सांस्कृतिक पहिचान दिने गरी निर्माण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । पृथ्बीनारायण शाहले नेपालको एकिकरणका बेला पुर्‍याएको योगदानको स्मरण गर्दै देविस्थान क्षेत्रमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक पार्क, बलभद्र कुँवरको शालिक सहितको पार्क, मदन भण्डारीको शालिक सहितको पार्क, वडा अध्यक्ष स्व. राजन कोईरालाको स्मृति सहितको पार्क लगायतका थुप्रै पार्कहरु निर्माण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । लकडाउन अवधीमा धुलिखेल नगरपालिका वडा नम्वर ३ स्थित कुत्ताल गुम्बा निर्माण उपभोक्ता समितीको आयोजनामा पार्क र निर्माण कार्य शुभारम्भ भएको छ ।

नगर प्रमुख अशोक ब्याञ्जुले गुम्बा र पार्क निर्माण कार्यको शिल्यान्यास गर्नु भएको छ । शिल्यान्यास कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेलाई पर्यटनमैत्री, सांस्कृतिक, धार्मिक र ऐतिहासिक नगर निर्माण गर्न हरेक वडामा बार्षिक एउटा पार्कका दरले पाँचवटा र नगर स्तरीय पार्क निर्माण गर्ने अभियानका साथ धार्मिक पार्क निर्माणका लागि नगर र वडा मार्फत साझेदारीमा कार्यहरु गरिरहेको बताउनु भयो । उपप्रमुख विमला शर्माले लकडाउनका बाबजुत पनि नगरपालिकाले आफना कार्यहरुलाई सूचारु गरिरहेको बताउनु भयो । वडा सदस्य हिराबहादुर तामाङले वडाका हरेक क्षेत्रको विकासका लागि नगरपालिका र वडा स्तरीय बजेट मार्फत नागरिकहरुका समस्या समाधान गर्ने बताउनु भयो । शिल्यान्यास कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, कार्यपालिका सदस्य सञ्जु तामाङ, न्यायिक समिति सदस्य गणेश आचार्य, बडा सदस्य हिराबहादुर तामाङ, बडा सदस्य रिता बराईली, स्थानीयहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए ।

त्यस्तै धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा बालमैत्री पार्क शिलान्यास भएको छ । धुलिखेल नगरपालिकाको श्रीखण्डपुरमा नगरप्रमुख अशोक व्याञ्जुले पार्कको शिलान्यास गर्नु भएको छ । उक्त पार्क १० लाख लागतमा निर्माण हुने वडा अध्यक्ष गंगासागर रञ्जितले जानकारी दिनुभयो । नगरपालिका र डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा बालमैत्री पार्क बन्न लागेको हो । बालमैत्री पार्क हरेक वडामा निर्माण भईरहेको छ ।

कृषकलाई औजार र विषादी

धुलिखेल नगरपालिकाले वडा नम्वर ११ का किसानहरुलाई हाते ट्याक्टर र घाँस काट्ने मेसिन वितरण गरेको छ । नगर प्रमुख अशोक व्याञ्जुले किसानहरुलाई उक्त सामाग्री वितरण गर्नु भएको हो । नगर प्रमुख व्याञ्जुले उक्त वडामा ११ वटा खेत खन्ने हाते ट्याक्टर र ११ वटा घाँस काट्ने मेसिन वितरण गर्नु भएको हो । ट्याक्टर र घाँस काट्ने मेसिन किसानहरुलाई ५० प्रतिशन अनुदानमा वितरण गरिएको वडा अध्यक्ष विष्णु धितालले बताउनु भएको छ ।

खेतिपातीको समय भएकोले किसानको समस्यालाई मध्यनजर गरि नगरपालिकाले किसानलाई कृषि सामाग्री वितरण गरेको वडा अध्यक्ष धितालले बताउनु भयो । औजार वितरण गर्दै नगर प्रमुख व्याञ्जुले कृषि सामाग्रीको सदुपयोग गरि कृषि पेशालाई सहज बनाउन किसानहरुसँग अनुरोध गर्नु भयो । यस अघि नगरपालिकाले हरेक वडाका नागरिकहरुलाई कृषि सामाग्री उपलब्ध गराएको थियो । नगरपालिका स्थापना दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषकहरुलाई सामाग्री वितरण गरिएको थियो । नगरपालिकाले कृषिलाई आधुनिकिकरण, प्रविधिकरणसँगै उत्पादनमा जोड दिने खालका कार्यक्रम गरिरहेको उहाँले बताउनु भयो ।

१६ सय घर धुरीलाई निशुल्क विषादी

मकैमा लगातार फौजी किराले आक्रमण गरी मकै उत्पादन सखाप बनाउन थाले पछि नगरपालिकाले सबै वडाका कृषकहरुलाई फौजी किरा विरुद्धको विषादी निशुल्क उपलब्ध गराएको छ । नगर भित्रका १ हजार ६ सय घरधुरीलाई निशुल्क विषादी वितरण गरिएको थियो । विषादी वितरणका लागि नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरुm वडा सदस्यहरु, कृषि शाखाका कर्मचारीहरु सहभािग थिए ।

प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका वडा नं. ९ मा मकैमा लाग्ने किरा नियन्त्रण गर्न किसानहरुालई किटनासक औषधि वितरण गरेका छन् । सो वडाका ३ सय घर धुरीलाई उक्त औषधि वितरण गरेका हुन् । नगरपालिकाले निशुल्क फौजी किरा विरुद्धको विषादी उपलब्ध गराए पछि किसानले राहत महसुस गरेका छन् । जनप्रतिनिधिहरु घर घर पुगी उक्त विषादी उपलब्ध गराएका थिए ।