‘लकडाउन सकिएको ६ महिनामा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन्छ’



नेपाल समाचारपत्र, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लकडाउन सकिएको ६ महिनाभित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने दाबी गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री भट्टराईले लकडाउन सकिएको छ महिनाभित्र विमानस्थल सञ्चालनमा आउने बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘कोरोनाको असर नभएको भए यतिबेला थुप्रै माननीयज्यूहरू भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार जाने सौभाग्य पाउनुहुन्थ्यो ।’

उहाँका अनुसार भैरहवास्थित विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सन् २०२० को जनवरी १ मा निर्माण सम्पन्न भई सञ्चालनमा आउने भनिए पनि समयमा निर्माण हुन सकेको थिएन । त्यसपछि विमानस्थल निर्माणको समय ३ महिना थप गरी मार्च महिनासम्म पु¥याइएको थियो ।

उहाँले पोखरास्थित क्षेत्रीय विमानस्थल निर्माणको काम भइरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम पनि भइरहेको बताउनुभयो । साथै उहाँले निजगढस्थित विमानस्थलको निर्माणको काम अगाडि बढाइएको बताउनुभयो ।

उहाँका अनुसार मुलुकभरका ५४ वटा विमानस्थलमध्ये ३४ वटा विमानस्थल कालोपत्रे भएका छन् भने आगामी दिनमा बाँकी विमानस्थलमा पनि कालोपत्रे गरिनेछ । साथै तराईका सबै विमानस्थलमा रात्रिकालीन सेवा शुरू गर्ने बताउँदैै राजविराजमा केही समयपछि नै रात्रिकालीन उडान शुरू गर्ने बताउनुभयो।

उहाँले विमानस्थल निर्माण गर्दा ३ वटा मापदण्ड अपनाउनुपर्ने बताउँदै दुर्गम ठाउँमा, प्रचुर पर्यटनको सम्भावना भएको र प्रचुर व्यावसायिक सम्भावना भएका ठाउँमा मात्रै विमानस्थल निर्माण हुने बताउनुभयो । मन्त्री भट्टराईले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको असर न्यूनीकरणका लागि १ खर्ब ५० अर्ब रुपियाँको पुनरुत्थान कर्जाको व्यवस्था गरेको बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट बढी प्रभावित रहेको पर्यटन क्षेत्रका लागि सरकारले राहत तथा पुनरुत्थानका लागि १ खर्ब रुपियाँको पुनरुत्थान कर्जा र ५० अर्ब रुपियाँको पुनरुत्थान कोषको व्यवस्था गरेको जानकारी गराउनुभयो । उक्त कोषमा रहेको रकम ५ प्रतिशत ब्याजमा चलाउन पाउने बताउनुभयो ।

नेपालमा कोरोनाको असर नदेखिएको हुँदो हो त पर्यटकको बसाइ १२ दशमलव ४ दिनबाट १४ दिन पु¥याउने, ४४ डलर खर्च गर्ने क्षमतालाई ८० डलर पु¥याउने लक्ष्य रहेकामा कोरोनाले त्यो लक्ष्यमा पुग्न नसकिएको बताउनुभयो । साना तथा मझौला पर्यटन व्यवसायलाई पुनरुत्थानका लागि २० करोड बजेटको समेत व्यवस्था गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्