लकडाउनका बेला बैंकमा पैसा थुप्रियो


न्युज अफ नेपाल,काठमाडौं ।

कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बैंकहरूमा तलरता वृद्धि भएको छ । अहिले बैंकहरूमा प्रशस्त नगद मौज्दात रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले न्युज अफ नेपाललाई जानकारी दिनुभयो ।

‘विगतको तुलनामा अहिले बैंकहरूमा निक्षेप बढ्न गएको उहाँको भनाइ छ । बैंकहरूमा अहिले सय अर्बजति नगद मौज्दात रहेको देखिएको छ ।’ उहाँले भन्नुभयो–‘पहिले यो समयमा निक्षेप कम हुन्थ्यो । तर, अहिले बढ्न गएको छ ।’

अध्यक्ष दाहालका अनुसार अहिले लकडाउनका समयमा बैंकमा कर्जाको अनुपात घटेको छ । लकडाउनका कारण कर्जा घट्न गए पनि निक्षेप भने बढेको छ । उद्योग व्यापार सबै ठप्प भएको अवस्थामा बैंकमा रकम थुप्रिएको हो । उहाका अनुसार आर्थिक वर्षको अन्त्यतिर निक्षेप घट्न गई कर्जा लिने बढ्ने अवस्था हुन्थ्यो तर यसपटक त्यस्तो भएन ।

राजस्व भुक्तानीका लागि उद्योगी व्यवसायीहरूले बैंकबाट रकम निकाल्ने समयमा लकडाउनले त्यस्तो नभएको हुँदा बैंक प्रणालीमा नगद मौज्दात बढेको बैंकरहरूको भनाइ छ ।