तपाई मलामी जानुभयो ? होसियार प्रहरीको खोजीमा पर्नुहोला !

0
Shares

भगवती तिमल्सिना,काठमाडौं ।

मानव सृष्टिकालदेखि चल्दै आएको मानवीय कार्य मर्दापर्दामा समाज, दाजुभाई, आफन्तको साथ कोरोनाले छुटाउँदैछ । छिमेकमा कसैको मृत्यु भयो अन्त्यष्टि गर्नु र मलामी जानु अघि धेरैपटक सोच्नुपर्ने बेला आएको छ ।

धनगढी उपमहानगरपालिका –४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा उपचारका लागि लगिएको थियो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा आरडिटी विधिबाट परिक्षण गर्दा बिरामीको रिपोर्ट नेगेटिभ आएपछि भर्ना गरिएकी ५५ बर्षिय महिलाको तत्काल मृत्यु भयो ।

मृतक महिला मृगौलाको रोगी भएका कारण स्वास्थ्य संस्थाले कोरोनाको जोखिम समूहमा रहेको भन्दै थ्रोट स्वाब कलेक्सन गरि परिक्षण प्रकृया अघि बढाएको भएपनि रिपोर्ट नआउँदै मृत्युभयो । अस्पतालले पहिलो आरडिटी परिक्षणको रिपोर्टकै आधारमा परिवारलाई शुक्रवार शब बुझायो ।

तर महिलाको मृत्युभएको ३० घण्टापछि रिपोर्ट पोजेटिभ आएको धनगढी मृतककै वडाका वडा अध्यक्ष दीपक थापाले जानकारी गराएका छन् । परिवारले एकदिन अघि लाश बुझे पनि आफन्तको पर्खाईमा रहेर शबको शनिवार विहान १० बजेपछि स्थानिय मोहना घाटमा अन्त्येष्टि गरेको हो । रिपोर्ट ढिलो आउँदा परिवार मात्र हैन यतिबेला गाउँनै त्रासमा छ ।

स्वास्थ्कर्मी, चिकित्सकहरु पनि उत्तिकै त्रसित बनेको वडाअध्यक्ष थापाले बताउनुभयो । वडाअध्यक्ष थापाका अनुसार मृतकको शव मोहना घाटमा लागेर अन्त्येष्टि गरियो । अन्त्येष्टि गरेको केही घन्टापछि कोरोना संक्रमणको पुुष्टि भयो ।’ त्यतिबेर सबै आ आफ्नो घर पुगिसकेका थिए । अहिले प्रहरीको सहयोगमा मलामीको खोजी भैरहेको छ ।

अन्त्येष्टिमा परिवारका सदस्य सहितका मलामीको खोजी कार्य भैरहेको छ । मलामीहरु यतिबेला जिल्ला प्रहरी कार्यालय कैलालीको निगरानीमा पुग्नुपर्ने भएको छ । मलामीको खोजी कार्यमा जिल्ला प्रहरी कार्यालयको टोली घरघर पुग्नुपर्ने अवस्था सृजना भएको छ ।

सरकारले अझै पनि पिसिआर विधिको प्रयोग बिरामीलाई भन्दा पहुँचवाला व्यक्तिहरुलाई मात्र गर्दै छ र विश्व स्वास्थ्य संगठनले अस्वीकृत गरेको आरडिटी प्रयोग गरेर सर्वसाधारणलाई भ्रम सृजना गरि जनस्वास्थ्य माथी खेलबाड गरिरहेको छ भन्दै यस अघिनै कानूनविद् तथा विज्ञहरुले सर्वोच्च अदालतमा आरडिटी परिक्षण रोक्न माग गर्दै मुद्धा नै हालीसकेका छन् ।

सरकारले यति गम्भिर बिषयमा ध्यान नदिँदा दिन प्रतिदित क्वारेन्टाईन र अस्पतालमै मृत्यु सावधानी नै नअपनाई हुने र अन्त्यष्टि समेत गरिसकेपछि आउने रिजल्टका कारण सर्वसाधारण नेपालीहरु मारमा परेका छन् र नयाँ नयाँ स्वरुपमा जनताले दुःख पाईरहेका छन् ।

कहिले क्वारेन्टाईनमै मृत्यु, कहिले क्वारेन्टाईनबाट नेगेटिभ रिपोर्ट लिएर घरपुग्दा मृत्यु भएपछिको परिक्षण पोजेटिभ आउँने कार्य दोहोरिरहँदा पनि सरकारले भने गल्ती सच्याउनुको सट्टा अझै पनि आरडिटीमै जोड दिने या परिक्षणलाई प्राथमिकतामा नराख्ने कारण पछिल्लो समय कोरोना संक्रमणमा बृद्धि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

जनस्वास्थ्यका नाममा खरिद गरिएका आरडिटि कीट यूरोप, अमेरिका लगायतका मुलुकले अस्वीकार गरेका छन् भने विश्व स्वास्थ्य संगठनले समेत स्वीकृति दिएको छैन । नेपाल सरकारले भने विश्व स्वास्थ्य संगठनलाई समेत अटेर गर्दै जनस्वास्थ्य भन्दा खरिद प्रकृयामा हुने नाफा र आफ्ना निकटतम व्यक्तिलाई धनी बनाउने कार्यमा मात्र जोड दिदै स्वास्थ्य मन्त्रालयको गतिविधिलाई भागबण्डाको आधारमा चलाएको स्रोतको दाबी छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएका भनिएका १३ जना मध्ये ३ जनाको मात्र मृत्यु पहिला कोरोना पुष्टि भएको छ भने अन्यको मृत्युपछिको परिक्षणमा मात्र कोरोना पुष्टि भएको छ । अन्त्यष्टि नै गरिसकेपछि कोरोना पुष्टि भएको यो पहिलो घटना हो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण एक सातामा २ जनाको मृत्यु भएको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुरा बुढीगंगा नगरपालिका–१ की २ वर्षीया बालिकाको बाजुरा अस्पतालमा यहि जेठ १८ गते मृत्यु भएको थियो ।

बालिकाको मृत्यु भएको करिब १२ घण्टापछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । मृतक बालिकाको आमालाई पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । नेपालमा कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ बर्षिय सुत्केरी महिला पहिलो हुन्, उनको पनि मृत्यु भएको ३ दिनपछि मात्र कोरोना प्रमाणित भएको थियो ।

पिसिआर परिक्षण नगरि बिरामीको मृत्यु हुने र मृत्यु पछि परिक्षण गर्दा परिवारका साथ आफन्त र चिकित्सकहरु समेत जोखिममा पर्दै आएको जानकारहरुको ठम्याई छ ।  कैलालीकी महिलाको पनि मृत्यु भएको करिब ३० घण्टापछि कोरोना परीक्षण रिपोर्ट आएको छ । मृत्युपछि कोरोना पुष्टि हुँदा त्यसले थप जोखिम बढाउने प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी बताउँनुहुन्छ ।

फाइल फोटो