स्याङ्जा कोरोनाको उच्च जोखिममा, दुईसातामा ३७ जना संक्रमित

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जामा दुई सातामा कोरोना संक्रमणको संख्या हवात्तै बढेको छ । आज १४ जना कोरोना संक्रमित थपिए सगै स्याङ्जामा कोरोना संक्रमणको संख्या ३७ पुगेको छ । ११ स्थानीय पालिका रहेको स्याङ्जामा ४ नगरपालिका सहित ३ गाँउपालिकामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिने सबै भारतबाट आएर संम्वन्धित पालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । आज देखिएका कोरोना संक्रमण मध्ये वालिङमा १३ र भीरकोट नगरपालिकामा १ पुरुष रहेका छन् ।

कोरोना संक्रमणको शुरुवात गरेको वालिङ नगरपालिका जिल्लाका ११ पालिका मध्ये धेरै संक्रमण देखिने पालिका रहेको छ । पिसिआर रिर्पोट अनुसार वालिङमा २६, चापाकोटमा ४, गल्याङमा २ र भीरकोट नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ भने हरीनासमा २, विरुवामा १ र कालीगण्डकी गाँउपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ भने आरडिटीबाट पुतलीबजारमा १ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

आईतबार आएको रिर्पोटमा देखिएका संक्रमणमा १८ देखि ५२ बर्ष सम्मका पुरुष रहेका छन् । करिव १ हजारको हाराहारीमा जिल्लाका सबै पालिकामा भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिएको छ । पिसिआरको दायरा वालिङले बढाएका कारण वालिङमा कोरोना संक्रमणको संख्या धेरै देखिएको बताइएको छ । अन्य पालिकाले भने पिसिआरमा जोड दिन नसकेको बुझिएको छ । सबै पालिकाले पिसिआरमा जोड दिने हो भने स्याङ्जामा ठुलो संख्यामा कोरोना संक्रमण देखिने आंकलन गरिएको छ । कोरोना संक्रमण देखिएकाहरु भीरकोट १ स्थित कालिका सामुदायीक अस्पतालमा उपचाररत छन् ।