नेयमारको रिलिज क्लज १७२ मिलियन युरो

0
Shares

लन्डन, एजेन्सी ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्ना ब्राजिलियन स्टार फरवार्ड नेयमारलाई कुनै क्लबले खरिद गर्न चाहेमा रकम सीमा (रिलिज क्लज) १ सय ७२ मिलियन युरो तोकेको छ ।

पीएसजीले सन् २०१७ मा नेयमारलाई क्लबमा भित्र्याउँदा विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरो मूल्य तिरेको थियो । नेयमारको रिलिज क्लज पिएसजीले खरिद गरेको मूल्यभन्दा ५० मिलियन युरो कम हो । पीएसजीले नेयमारलाई स्पेनिस क्लब बार्सिलोनाबाट आफ्नो क्लबमा अनुबन्ध गर्दा फुटबल इतिहासकै सर्वाधिक महँगो मूल्य २ सय २२ मिलियन खर्चेको थियो । तर, पिएसजीमा नेयमारले अपेक्षा गरेअनुसार खेल्न नसकेपछि क्लबले नेयमारलाई बेच्ने ईच्छा देखाएको इंग्लिस सञ्चारमाध्यम ‘टेलिग्राफ’ ले जनाएको छ ।

यता नेयमार भने पीएसजी छाडेर पूर्वक्लब बार्सिलोना नै फर्कन चाहन्छन् । बार्सिलोनाका कप्तान लियोनल मेसी, लुइस स्वारेज तथा जेरार्ड पिकेलगायत खेलाडीको आग्रहपछि बार्सिलोनाले नेयमारलाई पुनः फर्काउन तयार भएको बताइएको छ । यसअघि स्पेनिस मिडियाले नेयमारका लागि बार्सिलोनाले १ सय ३० मिलियनभन्दा बढी रकम खर्च नगर्ने समाचार छापेको थियो ।

बार्सिलोना अहिले नगद नै दिएर नेयमार अनुबन्ध गर्ने अवस्थामा छैन । कोरोना भाइरसका कारण आर्थिक संकट बढेकाले बार्सिलोना पीएसजीले रोजेका आफ्ना २ जनासम्म खेलाडी दिएर र बाँकी रकम थपेर नेयमार भित्र्याउन चाहन्छ ।