सुत्केरी महिलामा कोरोना भेटिएपछि मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

मध्यपुर अस्पतालबाट डिस्चार्ज भएकी सुत्केरी महिलामा कोरोना पोजिटिभ भएपछि अस्पतालका ३० स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।अस्पतालका ६ जना चिकित्सक, १२ नर्सिङ स्टाफ, ११ हेल्पर र एक जना ल्याब स्टाफलाई क्वारेन्टाइनमा राखेको अस्पतालकी मेडिकल डाइरेक्टर डा.रबिना प्रधानाङ्गले बताउनुयो ।

अस्पतालको प्रसूति कक्ष र फार्मेसीमा समेत सिल गरिएको छ । अस्पतालले कोरोना संक्रमण न्यूनीकरणका लागि नियमित निर्मलीकरण गर्ने गरेकोले ओपीडी सेवा, इमर्जेन्सी सेवा तथा आईसीयू सेवा सुचारु गरेको डा. प्रधानाङ्गको भनाई छ ।

उनीहरुको कोरोना परीक्षणको लागि आज स्वाव संकलन गरिने अस्पताल प्रशासनले जनाएको छ । तर, अस्पताल सिल गरिएको छैन् । अस्पतालका सेवाहरु नियमित हुने अस्पतालले बिज्ञप्ति जारी गरी जनाएको छ । महिलाको अस्पतालमा एलएससीएस विधिबाट अपरेशन गरी सुत्केरी गराइएको थियो ।

स्वाव परीक्षणको नतिजा आएपछि मात्रै गाईनेवार्ड संचालनमा ल्याइने अस्पतालले जनाएको छ । त्सस्तै अपरेशन कक्षलाई निर्मलिकरण गरी संचालनमा ल्याउने तयारी अस्पतालको छ । अस्पताको गाईनेवार्ड बाहेक अन्य सेवा भने सुचारु नै रहेको छ

कोरोना संक्रमण पुष्टि भएकी महिला बस्ने कमलविनायक चोफल क्षेत्रमा प्रहरीले सिल गरेको छ ।स्वास्थ्य मन्त्रालयले शनिबार संक्रमण पुष्टि गरेकी भक्तपुरकी ३० वर्षीया महिलाको कोरोना परीक्षणको रिपोर्ट नआउँदै सिजरिङ डेलिभरी भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा उनले कोरोना परीक्षण गराएकी थिइन्। कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार केएमसीमा स्वाब दिएपछि रिपोर्ट नआउँदै जेठ २१ गते मध्यपुर अस्पतालमा उनको सिजरिङ डेलिभरी गरिएको थियो ।

डेलिभरी गरेपछि शनिबार मात्रै डिस्चार्ज भएर संक्रमण पुष्टि गरिएकी महिला काठमाडौंको कोटेश्वरस्थित माइती गएकी थिईन् ।सुत्केरीमा कोरोना भाइरस संक्रमण देखिएपछि उनको अप्रेसनमा संलग्न चिकित्सक सहित स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो ।
सुत्केरी भएर कोटेश्वर पुग्नुअघि भने उनी र उनका श्रीमान भक्तपुर नगरपालिका ९ कमलविनायकस्थित एक घरमा डेरा बसेका थिए। उनको परिवारले उक्त घरको कोठा भने नछाडेको स्थानीयको भनाई छ ।

सुत्केरी महिला भएकाले उनलाई पाटन अस्पतालको आइसोलेसनमा लगिएको बताईएको छ ।भक्तपुर जिल्लामा यी सुत्केरी महिला छैटौं संक्रमित हुन्। उनीअघि पनि चाँगुनारायण नपा ३ झौखेलकी एक गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनको पनि सुत्केरी गराउनको लागि केएमसीमा कोरोना भाइरस परीक्षण गरिएको थियो। उनको अहिले पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

दुई महिनाअघि सुनसरीको झुम्का नगरपालिका घर भई ललितपुरस्थित आरोग्य प्रतिष्ठानमा काम गर्ने २५ वर्षीया महिला, रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका १ सरस्वतीखेल बस्ने सशस्त्र प्रहरीका २७ वर्षीय जवान, भक्तपुर नगरपालिका ५ योसिंखेल बस्ने काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक ४२ वर्षीय पुरुष र भक्तपुर नगरपालिाका ९ तुमचो निवासी ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

उनीहरु चारैजना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भई सामान्य जीवनमा पर्कि सकेका छन् ।