स्वदेश फर्किए विश्व साइकलयात्री

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाललाई चिनाउन फागुन ७ गते हेटौंडाबाट विश्व साइकलयात्रामा निस्किएका हेटौंडाका चर्चित युवा कोरियोग्राफर विक्रम भारतीसहितको टोली शुक्रबार स्वदेश फर्किएको छ ।

उनीसँगै साइकलयात्री चितवन गैंडाकोटका बिमल गिरी र कैलालीका छत्र रावल पनि फर्किएका छन् । सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेपछि म्यानमारमा रहेका उनीहरु अन्य देशमा रहेका भन्दा पहिले स्वदेश फर्किन पाउने भाग्यमानी बनेका थिए ।

कोरोना भाइरसका कारण भएको लकडाउनले विदेशमा फसेका नेपालीको उद्धार गर्ने क्रममा म्यानमारबाट उनीहरुसहित नेपाली स्वदेश फर्किएको हो । नेपाल आएको टोलीमा म्यानमारमा रहेका नेपाली विद्यार्थी, पर्यटक तथा व्यबसायी रहेको जनाइएको छ । भारतीको टोली ४ हजार १ सय किलोमिटर दुरी पूरा गरी म्यानमार पुगेको थियो । म्यानमार पुगेपछि कोरोना महामारीका कारण उनीहरु म्यानमारको रंगुनमा थिए ।

भारतीले कोरोना महामारी सकिएपछि आफूको साइकलयात्रा जारी रहने बताउनुभयो । झण्डै १० महिनामा १३ राष्ट्र घुमिसक्ने लक्ष्यसहित उनीहरुले यात्रा सुरु गरेका थिए ।

उनीहरुले पहिलो चरणमा हेटौंडाबाट भारत हुँदै, बंगलादेश, म्यानमार, लाओस, थाइल्याण्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, टिमोर लेस्टे, जापान र कोरिया यात्रा गर्ने लक्ष्य बनाएका थिए ।

पहिलो चरणमा सरकारले शुक्रबार म्यानमारमा रहेका नेपालीहरुलाई उद्धार गरेको हो । म्यानमारमा रहेका २६ नेपाली म्यानमार सेनाको एयरफोर्समार्फत् शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्धार गरेर ल्याइएका सबैलाई वसुन्धरामा रहेको यति पार्टी प्यालेसमा रहेको होल्डिङ सेन्टरमा राखिएको छ ।

उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टिनमा पठाइने बताइएको छ ।