डा. सुमनराज ताम्राकार ।
मानिसको मोटोपना स्वास्थ्यसँग जोडिएको हुन्छ । मोटोपना प्रजनन स्वास्थ्यसँग पनि सम्बन्धित छ । विशेषगरी गर्भावस्थाको मोटोपनले आमाको स्वास्थ्यमात्र होइन, शिशुको स्वास्थ्य पनि संकटमा पारिदिन सक्छ । त्यसकारण शरीरको तौल ठिक्क अवस्थामा राख्नुपर्छ ।
प्रजनन स्वास्थ्यमा मोटोपनको असर
नियमित महिनावारी हुने महिलामा मासिक श्रावको मध्यतिर डिम्ब निष्कासन हुन्छ । यसै समय पुरुषको संंसर्गमा आएमा गर्भ रहन्छ । तर मोटोपना भएका प्रायजसो महिलामा महिनावारी ठीक समयमा नहुने हुनाले गर्भ रहन समस्या हुन सक्छ । विवाहपश्चात्को केही समयसम्म पनि गर्भ नआएमा सम्बन्धित चिकित्सकबाट उपचार गराउनुपर्छ । यस्तो उपचार र परामर्र्शपछि गर्भ रहन सक्छ ।
मोटोपना भएकी महिलामा गर्भ आइहाले पनि गर्भ खेर जाने, गर्भभित्रै शिशुको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । यदि मोटोपनाको कारणले गर्भावस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौला, कलेजो वा कोलेस्टेरोलको समस्या देखियो भने यी समस्याहरुकै कारण गर्भको शिशुमा थप असर पर्न जान्छ । यदि गर्भावस्थामै मधुमेह नियन्त्रित अवस्थामा नभएमा गर्भे शिशुको मुटुलगायत अन्य शारीरिक अंगहरुमा विकृति देखा पर्न सक्छ ।
मोटोपनका कारण वा मधुमेह भएका गर्भवती महिलाका गर्भे शिशुको तौल बढी हुनसक्ने तथा गर्भे शिशुवरिपरिको पानीको मात्रा पनि बढी हुनसक्ने हुन्छ । यस कारणले गर्दा प्रसूति समयमा विभिन्न किसिमका जटिलता उत्पन्न हुन सक्छन् । मोटोपनको कारण वा उच्च रक्तचाप भएका गर्भवती महिलाका गर्भे शिशुको वृद्धिदर सामान्य तवरले नहुने, गर्भे शिशु सानो हुने तथा गर्भे शिशुवरिपरिको पानीको मात्रा कम हुने हुनाले गर्भभित्रै शिशुको मृत्यु हुनेसम्म खतरा हुन्छ ।
यी दुवै अवस्था (गर्भावस्थामा मोटोपनका साथै मधुमेह वा उच्च रक्तचाप) मा औजार प्रयोग गरी वा सिजेरियन अपरेसन गरेर बच्चा पाउनुपर्ने हुन सक्छ । यस्तो अवस्था भएमा जोखिम थपिन जान्छ । मोटोपन भएका महिलाबाट जन्मेका बच्चामा सानैदेखि मोटोपना, असामान्य शारीरिक वृद्धि तथा दमको समस्या हुन सक्छ । मोटोपन भएका महिलामा सुत्केरीपछिको समयमा पनि घाउ पाक्ने, खुट्टा, पिँडौलामा रगत थिग्रिने, मुटु तथा छातीको समस्या उत्पन्न हुन सक्छ ।
यसरी मोटोपनको कारण गर्भ रहनदेखि सुत्केरीपछिको समयसम्म विभिन्न समस्या उत्पन्न गराउन सक्छ । तर मोटोपन घटाउने उपायहरु अपनाउनुका साथै सम्बन्धित चिकित्सकको निगरानीमा प्रजनन स्वास्थ्य राम्रो बनाउन सकिन्छ ।
मोटोपन कसरी हुन्छ ?
कम व्यायाम, असन्तुलित भोजन र स्थिर दैनिकी मोटोपनको मुख्य कारण हो । गर्भमा रहँदा वा जन्मिएपछि शिशु अवस्थाको मोटोपन युवावस्था तथा प्रौढ अवस्था पुग्दा पनि रहिरहन्छ । यस्तै गरी सानै उमेरदेखि फास्टफुड, जंक फुड, गुलिया खानाको सेवनलगायत अभिभावकको करकापले बढ्ता खाने बच्चामा मोटोपनको समस्या भएको पाइन्छ ।
खानाको सेवन तथा शरीरमा त्यसको खपतबीच सन्तुलन मिलेन भने मोटोपन विकसित हुन्छ । तारेका, भुटेका, बोसोयुक्त, जंक एवं फास्टफुड खानाले मोटोपन बढ्छ । यस्ता खानासँगै एप्पेटाइजरका रुपमा मद्यपान गर्दा यसबाट पनि मोटोपनको समस्या उब्जिन्छ । आजकालको चल्तीको खाना मम, चाउमिन, फ्राइड फुडलगायतका फास्टफुडका कारण सजिलै मोटोपन विकसित हुन्छ । त्यसका साथै रिमोट कन्ट्रोल समाई टेलिभिजन सेटअगाडि बसेर खाना खाने बानी, दिनभरि भोकै बस्नै अनि बिहान–बेलुका एकैपटक धेरै खाना खाने बानीले गर्दा पनि पछिल्लो समयमा नेपालमा मोटोपनको समस्या बढेको देखिन्छ ।
मोटोपनको कारण मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, कोलेस्टेरोल, नसा, आँखा, मिर्गौलाको समस्याजस्ता थुप्रै खाले नसर्ने प्रकारका रोगहरु लाग्न सक्छन् । मोटोपन आजको विश्वको जल्दोबल्दो स्वास्थ्य समस्या हो । दुःखको कुरा, विकसित मुलुकमा जस्तै नेपाललगायतका विकासोन्मुख मुलुकहरुमा पनि मोटोपनको समस्या बढ्दो क्रममा छ ।
मोटोपन कसरी थाहा पाउने ?
मानवशरीरको उचाइ र शारीरिक संरचनाअनुसार शरीरको तौल हुनुपर्छ । आफ्नो शरीरको तौल ठिक्कको छ वा छैन, थाहा पाउने सरल तरिका बडी मास इन्डेक्स (बीएमआई) नै हो । शरीरको तौल (किलोग्राम) लाई शरीरको उचाइ (सेन्टिमिटर) ले दुईपटक भाग गर्दा निस्कने योगफल नै बीएमआई हो । यदि शरीरको तौल तथा उचाइको हिसाब गर्दा ३० किलोग्राम प्रति–वर्गमिटरभन्दा बढी भएमा मोटोपन भएको मानिन्छ ।
बीएमआईको आधारमा शारीरिक तौलको वर्गीकरण गर्दा बीएमआई २९.९ भन्दा बढी हुनुहुँदैन । १८.५ देखि २४.९ सम्म सामान्य, २५ देखि २९.९ सम्म बढी तौल, ३० भन्दा माथि मोटो व्यक्तिका रुपमा वर्गीकृत गरिन्छ । त्यसो त १८.५ भन्दा कम हुनु पनि राम्रो मानिदैन । कति तौललाई अधिक मान्ने र कहिलेदेखि तौल घटाउन थाल्ने भन्ने सवालमा बीएमआईका साथै कम्मरको घेराको नापलाई पनि उत्तिकै ध्यान दिनुपर्दछ । यदि महिलाको कम्मरको घेरा ३२ इन्च र पुरुषको कम्मरको घेरा ३५.६ इन्चभन्दा कम छ भने चिन्ता लिनुपर्दैन । अर्को तरिकाअनुसार सेन्टिमिटर स्केलबाट आफ्नो शरीरको उचाइमा सय घटाउँदा आउने शेष आफ्नो लागि सही तौल हुन्छ ।
कम्मरभन्दा माथिको भाग मोटो हुुनु र कम्मरभन्दा मुनि मोटोपना हुनु गरी दुई खालको मोटोपन मानिन्छ । यसमध्ये कम्मरभन्दा माथि पेटमा बोसो लाग्ने खालको मोटोपन अर्थात् स्याउ आकारको मोटोपन बढी हानिकारक हुन्छ । अनुभवी चिकित्सकका अनुसार पेटको आकारभन्दा पुट्ठाको आकार ठूलो हुनु राम्रो हुन्छ । धूमपान गर्ने व्यक्तिमा धेरैजसो स्याउ आकारको मोटोपन विकास हुन्छ ।
मोटोपन घटाउने उपायहरु
मोटोपन भएकै व्यक्तिमा पनि रक्तअल्पता र कतिपय भिटामिनको कमी हुन सक्छ । त्यसैले गर्भपूर्व नै पोषण शिक्षा, दैनिक जीवनयापनमा ल्याउनुपर्ने परिवर्तन, सही खानाको छनौट तथा शारीरिक व्यायामसम्बन्धी सल्लाह–परामर्श लिनुपर्दछ ।
लिफ्टको सट्टा भर्याङ चढ्ने, मुटुको चाल २५ प्रतिशतले बढ्ने गरी छिटो–छिटो हिँड्ने, नाच्ने, घरको सरसरफाइ अनि लुगा धुने, करेसाबारीको काममा सक्रिय तवरले लाग्ने, साइकल चढ्ने गर्नुपर्दछ । कोलेस्टेरोल कम गर्ने तथा मधुमेह नियन्त्रणमा ल्याउने औषधिलाई थप प्रभावकारी बनाउन दैनिक कम्तीमा एक घण्टा जतिको व्यायाम चाहिन्छ । सुस्त गतिको मर्निङ वाक गर्ने र त्यसलगत्तै अधिक चिल्लोयुक्त खानेकुरा खाने गर्नाले मोटोपन घट्दैन ।
गेडागुडी, सागपात, फलफूल बढ्ता खानुपर्दछ । तारेका, भुटेका खाना कम खानुपर्दछ । टुसाएको तथा रेसादार खानामा बल गर्नुपर्दछ । व्रत बस्ने तथा डाइटिङ गर्ने बानीले उल्टो असर हुन सक्छ । लामो अन्तरालमा खाने बानीभन्दा पटक–पटक तर थोरथोरै खाइराख्ने बानी राम्रो हुन्छ । हतार–हतारभन्दा राम्ररी चपाएर स्वाद लिईकन खाने बानी बसाल्नुपर्दछ ।
कहिलेकाहीँ स्वाद फेर्नका लागि मात्र फास्टफुड एवं जंक फुडको सेवन गर्न सकिन्छ । बेला–बेलामा ब्लडप्रेसर तथा मुटुको धड्कनको नियमित जाँचका साथै रगतमा कोलेस्टेरोल, सुगर, क्रियटिनको जाँच गराउनुपर्दछ । आवश्यक परेमा ईसीजी त्यसपछि समस्या हेरीकन इकोकार्डियोग्राफी, हल्टर, ट्रेड मिल टेस्ट एवं एम्बुलेटरी ब्लड प्रेसरको जाँच गर्नुपर्दछ । शरीरको उचाइअनुसार तौल नियन्त्रणमा राख्नुपर्दछ । शारीरिकरुपले पूर्ण सक्रिय जीवनयापन गर्नुपर्दछ ।
प्रतिक्रिया