परीक्षणको दायरा बढेसँगै कोरोना संक्रमितको पहिचान पनि बढ्दै : प्रवक्ता डा.देवकोटा

0
Shares

भगवती तिमल्सिना,काठमाडौँ ।

कोरोना संक्रमितको संख्या नेपालमा २४ घण्टामा १ सय ८९ जना थपियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दिनुभएको जानकारी अनुसार कोरोना पहिचानका लागि पिसिआर बिधिलाई नै आधिकारीक मान्दै आएको बताउनुभयो । तर पिसिआर र आरडिटि दुबै विधि चालु रहेको समेत उहाँले जानकारी गराउनुभयो ।

डा.देवकोटाले देशको ५३ जिल्लामा फैलिएको कोरोना संक्रमणका कारण हाल सम्म पिसिआर विधिबाट ६६ हजार ७ सय २९ र आरडिटी विधिबाट १ लाख १० हजार ७८ परिक्षण गरिएकोमा १ हजार ४ सय १ जनामा पोजेटिभ देखिएको जानकारी गराउनुभयो । शनिवार संक्रमण प्रमाणित भएका १ सय ८९ मध्ये १ सय ८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

हाल सम्म संक्रमित मध्ये कुल २ सय १९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । उपचारपछि घर फर्कनेमा १ सय ७२ जना पुरुष र ४७ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संचालनमा ल्याएको दुईवटा कल सेन्टरमा २४ घण्टामा १ हजार ५ सय ५६ जनाले कल गरेर आफ्नो जिज्ञासा राखेका छन् । त्यसैगरी स्वंमूल्यांकन फम भर्नेमा ५१ हजार ३ सय २५ मध्ये १ जना रेडजोनमा परेको र चिकित्सकको सम्पर्कमा आईसकेको डा.देवकोटाले जानकारी गराउनुभयो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजै मात्र चिनबाट काठमाडौ भित्र्याएको १ लाख २१ हजार आरडिटी किट मध्येबाट ७७ हजार ४ सय थान परिक्षण किट अभाव भएका जिल्लामा पठाईसकेको डा.देवकोटाले जानकारी गराउनुभयो । उहाँले यसका साथै भिटिएमको अभाव भएका कतिपय जिल्लामा आजै ६ हजार थान भिटिएम पनि पठाईसकेको जानकारी गराउनुभयो ।

हाल सम्म ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भैसकेको जानकारी गराउनुभयो । मिडिया ब्रिफिङकै क्रममा डा.देवकोटाले मिडियाले जनचेतनाका क्षेत्रमा खेलेको भूमिका र प्रचार प्रसारका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोग पाईरहने अपेक्षा व्यक्त गर्नुभयो ।