झापा कचनकवलमा थप २७ जनालाई कोरोना संक्रमण,सङ्क्रमितको सङख्या १०७ पुग्यो

0
Shares

न्युज अफ नेपाल,भद्रपुर ।

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या १सय ७ पुगेको छ । शुक्राबार कचनकवलमा थप २७ जना कोरोना सङ्क्रमित थपिएपछि यस्तो भएको हो । कचनकवलमा गाउँपालिकाका क्वारेनटाइनमा बसेकाहरू मध्येबाटै २७ जना सङ्क्रमित थपिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परीक्षण पछि उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मगरले बताउँनुभयो । गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या एक सय पुगेको छ । कचनकवलमा पछिल्लो पटक १६२ जनाको स्वाब सङ्कलन गरी पिसीआरको लागि पठाइएको थियो ।

त्यसमध्ये बुधवार १५, बिहीबार २५ र शुक्रवार २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । उनीहरूलाई पाठामारीको जानकी आधारभूत र केचनाको महेन्द्ररत्न माविको क्वारेनटाइनमा राखिएको थियो । बिहीबार र शुक्रवार पुष्टि भएका सङ्क्रमित महेन्द्ररत्न माविको क्वारेनटाइनमा बसेका थिए ।

उनीहरू सबै समूह बनाएर भारतको दिल्ली, मुम्बईबाट गाउँ फर्किएका हुन् । उनीहरूमै सङ्क्रक्रमण देखा परेको गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले जानकारी दिनुभयो । गाउँघर प्रवेश गर्न नदिएकोले सङ्क्रमण फैलिनबाट गाउँवासी समयमै जोगाउन सफल भएको उहाँको दाबी छ ।

कचनकवलमा क्वारेनटाइनमा बसेका अन्य व्यक्तिको पनि स्वाब सङ्कलन भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । यसअघि जिल्लाको बाह्रदशी र गौरदाहमा दुई दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक एक जना थपिएका थिए । दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन् । झापामा पुष्टि भएका सङ्क्रमित प्रदेश १ कै जिल्लामा सबै भन्दा बढी भेटिएको हो ।