स्वास्थ्य क्षेत्रको बजेट ९० अर्ब ६९ करोड



भगवती तिमल्सिना,काठमाडौं ।

नेपाल सरकार तथा अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्‌मा आर्थिक वर्ष २०७७÷७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट मध्ये स्वास्थ्यमा ९० अर्ब ६९ करोड विनियोजन गरिएको बजेट भाषणमा उल्लेख गर्नुभएको छ । यसपटक स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि गरेको बजेट भाषणमा बोल्दै उहाँले बताउँनुभयो ।

विश्वव्यापी रुपमा मानव अस्तित्वनै संकटमा पार्दै फैलिएको कोरोना भाइरस रोग रोकथामका लागि ६ अर्ब रकम बिनियोजन गरिएको छ । रोगको उपचार र नियनत्रणलाई प्राथमिकता दिदै ल्याईएको स्वास्थ्य बजेटमा उल्लेख गरिएको छ । बजेटमा नयाँ अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड रकम छुट्याइएको छ । त्यसैगरी चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था पनि गरिएको छ ।

कोरोना संक्रमणको महामारीका लागि छुट्टै सरुवा रोग अस्पताल चाहिने बिषयमा विज्ञहरुले ध्यानाकर्ष गराएको थियो । सोही अनुरुप काठमाडौ उपत्यकामा छुट्टै ३ सय सैयाको सरुवा रोग अस्पताल निर्माण गर्नेे भएकोछ । अर्थ मन्त्री खतिवडाले कोरोना भाइरस रोगको उपचारमा खटिने कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई निशुल्क स्वास्थ्य बीमा गरिने पनि बताउनुभयो ।

त्यसैगरि कोरोना संक्रमणका कारण ल्याब परिक्षण ढिला भएको र अपर्याप्त नभएको अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाईने भएकोछ । तीन वर्ष भित्र सबै नागरिकलाई बीमाको दायरामा ल्याइउने घोषणासँगै स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब रुपिया छुट्याइएको उल्लेख गरिएको छ ।

बालरोगको अध्ययनका लागि कान्ति बाल अस्पताललाई बिस्तार गरिने भएकोछ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिनेछ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवालाई थप सुधार गरिने भएकोछ ।

त्यसैगरी स्वास्थ्य पूर्वाधार तथा औषधि, उपकरण विनियोजनका लागि १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरिएको छ ।
काठमाडौं उपत्यका र प्रदेश राजधानीमा २ सय ५० शैयाका आइसियु बेड स्थापना गरिने पनि उहाँले जानकारी गराउनुभयो । सबै प्रदेश राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल स्थापना गरिने मन्त्री खतिवडाले बताउनुभयो ।

पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेलधुरा अस्पतालको स्तरोन्नती गरी विषेशज्ञ अस्पतालको रुपमा विकास गरिँदै लगिने पनि बताउँनुभयो । अर्थमन्त्री डा. खतिवडाले बजेटको प्रमुख उद्देश्यमा संक्रामक रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने तर्फ केन्द्रित भएको उल्लेख गर्नुभएको छ ।

उहाँले कोरोना लगायत स्वास्थ्य जोखिमबाट नागरीकलाई सुरक्षित राख्न स्वास्थ्य क्षेत्रको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण, स्तरोन्नती र स्वास्थ्य जनशक्तिको विकास गरिने बिषयमा जोड दिनुभयो । कोरोना उपचारमा संलग्न चिकित्सक कर्मचारीहरुलाई उच्च मूल्यांकन गरि प्रोत्साहनका लागि बजेट छुट्याएको छ । त्यसैगरी सम्पूर्ण कर्मचारीहरुको लागि एक लाख बराबरको निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रम ल्याएको छ ।

नेपाल सरकार तथा अर्थमन्त्री डा. खतिवडाले संघीय संसद्‌मा गतबर्ष बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक बर्ष २०७६÷०७७ सालका लागि प्रस्तुत गरिएको १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६८ अर्ब ७८ करोड बिनियोजन गरिएको थियो । कोरोना संक्रमणको महामारीका कारण गतबर्षको तुलनामा स्वास्थ्यको बजेटमा २१ अर्ब ९१ करोड बृद्धि भएको छ ।
मदिरा र सूर्तिजन्य पदार्थमा सामान्य मूल्य बृद्धि

बजेट भाषणमा अर्थमन्त्री खतिवडाले मदिरा, सूर्तिजन्य पदार्थमा मूल्य बृद्धि भएको जनाए पनि के कति बढेको भन्ने बारे उल्लेख गर्नुभएन् । विश्व स्वास्थ्य संगठनले मदिरा र सूर्तिजन्य पदार्थले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हुनाले ७० प्रतिशत सम्म बृद्धि गर्न सुझाव दिएको भए पनि अर्थ मन्त्रीले सामान्य मात्र बढाएको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्