राष्ट्र बैंकले ४ दशमलव ४ प्रतिशतको स्प्रेडदरलाई कडाइ गर्ने


काठमाडौ, नेस ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्त्यसम्ममा निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर अन्तर ‘स्प्रेडदर’ ४ दशमलव ४ प्रतिशतभित्र ल्याइसक्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने भएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत स्प्रेडदरलाई ४ दशमलव ५ प्रतिशतबाट ४ दशमलव ४ प्रतिशतमा झार्ने व्यवस्था गरेको थियो ।

अघिल्लो वर्ष स्प्रेडदर ५ प्रतिशत थियो । बैंकहरुको व्यापार बढ्दै जा“दा उनीहरूलाई कम मार्जिनमा काम गर्न राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्दै आएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपकर्ताका लागि तोक्ने ब्याजदरलाई थप व्यवस्थित बनाउने जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात बैंक दर र वैधानिक तरलता अनुपातलाई यथावत कायम गरेको छ ।

त्यस्तै कृषि व्यवसाय लघु साना तथा मझौला उद्योगलगायतका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुने गरी सहज रूपमा पुनर्कर्जा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ।