कोरोना संक्रमणको उच्च जोखिम बढ्दै : विश्व स्वास्थ्य संगठन

0
Shares

भगवती तिमल्सिना,काठमाडौं ।

नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढेसँगै मंगलबार नयाँ कोरोना संक्रमितको संख्या ९० जना थपिएको छ । हालसम्म कोरोना संक्रमण पुष्टिभएको कुल संख्या ७ सय ७२ पुगेको छ । पहिलो केस कोरोनाको उद्गम स्थल चीनबाट नेपाल फर्किएका जनकपुरका एक युवामा माघ ९ गते देखा परेको थियो ।

नेपालले चैत्र ११ गते कोरोना संक्रमण देशव्यापी नफैलँदै समयमै लकडाउन गरे पनि व्यवस्थापन फित्तलो हुनु र पटक पटक छिमेकी मुलुक भारतबाट खुल्ला सिमाना हुँदै लुकीछिपी प्रवेश गर्ने व्यक्तिहरुका कारण थप जोखिम बढ्दै गएको छ । लकडाउनकै समयमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

एकैदिन ९० जना बढ्नु यो साताकै उच्च संख्या हो । अहिले सम्म नेपालको ४६ जिल्लाका नागरिकमा कोरोना संक्रमण फैलिसकेको र अझ उच्च जोखिम बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मंगलबारको मिडिया ब्रिफिङमा जानकारी गराउनुभयो ।

डा. देवकोटाले एकपटक संक्रमण भै निको भएकालाई पुनः संक्रमण हुँदैन भन्ने भ्रममा नपर्न र हिजो परिक्षणमा नेगेटिभ आएकालाई भोली पोजेटिभ आउँदैन भन्ने भ्रममा पनि नपरी सबैलाई सुरक्षा अपनाएर लकडाउनको पालना गर्न अनुरोध गर्नुभयो । उहाँले अहिले सम्म कोरोनाको कुनै पनि औषधि प्रमाणित नभएको कुनै व्यक्ति वा समूहले कोरोनाको औषधि भन्दै दिए भनेर नखान समेत अनुरोध गर्नुभएको छ ।

उहाँले कोरोनाको औषधि भनेर खाँदा स्वास्थ्यमा अरु समस्या हुनसक्छ । त्यसैले औषधि भनेर जथाभावि नखान पनि अनुरोध गर्नुभयो । शुरुका दिनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र पिसिआर परिक्षण हुँदै आएकोमा अहिले २० भन्दा बढी स्थानमा ल्याब स्थापना गरि परिक्षण शुरु गरिएको र परिक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढेको छ ।

शुरुका दिन देखि आज सम्म पुग्दा पिसिआर परिक्षण ५४ हजार ४ सय २४ पुगेको छ भने ९७ हजार ९ सय ६७ को आरडिटी परिक्षण गरिएको र सुरक्षामा अझ ध्यान दिनुपर्ने हुन्छ । नेपालको सन्दर्भमा सुचना संम्प्रेषणमा संचार माध्यमले खेलेका भूमिकाले स्वास्थ्य मन्त्रालयलाई पनि मार्ग निर्देश हुनेहुनाले सूचना संप्रेषणमा जिम्मेवार भैदिन पनि डा.देवकोटाले अनुरोध गर्नुभयो ।

संक्रमित हुनेहरु महोत्तरी, जुम्ला, बारा, रौतहट, सिरहा, धनुषा, नेपालगंज, रुपन्देही, अर्घाखाँची, गुल्मी, कैलाली, अछाम, दाँङ,पोखरा, सुर्खेतका रहेका छन् । नारायणी अस्पताल वीरगंजबाट मंगलबार एकैपटक ४३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ४१ जना पुरुष र २ जना महिला रहेका छन् ।

अहिले सम्म डिस्चार्ज हुनेमा १ सय ५५ जना पुगेका छन् । ६ सय १३ जनाको विभिन्न अस्पताल, स्वास्थ्य संस्था, आइसुलेसनमा राखी उपचार भैरहेको छ भने ४ जनाको मृत्यु भैसकेको छ । विश्व स्वास्थ्य सगठनले कोरोना संक्रमण पुनः दोहोरिन सक्ने चेतावनी सहित सुरक्षा अपनाएन अपिल गरेको छ ।