भारतबाट आउनेहरुकै कारण प्रदेशमा कोरोना संक्रमित बढे : मुख्यमन्त्री पोखरेल

0
Shares

यमलाल भुसाल,बुटवल ।

प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले कोभिड १९ संक्रमितको अवस्था पत्ता लगाउन प्रदेशमा फ्रिजमा स्वाब राखेर पालो पर्खने अवस्था रहेको बताउनु भयो । उहाँले प्रदेश पाँचमा कोरोना परिक्षणका लागि अत्यधिक चाप रहेको समेत बताउनु भयो ।

उहाँले नेपालका वारेन्टाईनमा रहेका मध्ये प्रदेश ५ ले एक्लै ५० प्रतिशत संख्या क्वारेन्टाईनमा राखेको बताउदै सिगो नेपालमा रहेको क्वारेन्टाईनको क्षमतामा प्रदेश ५ अब्बल रहेको दाबी गर्नु भयो । प्रदेश पाँचमा क्वारेन्टाईनमा रहेको व्यक्तिको मुत्यु र क्वारेन्टाईनमा रहेकाहरु भागिरहेको अवस्थामा मुख्यमन्त्री पोखरेलले प्रदेशमा उत्कृष्ट व्यवस्थापन रहेको भनी सभामा वोल्नु भएको थियो ।

मंगलवार प्रदेश ५ को प्रदेश सभामा वोल्दै मुख्य मन्त्री पोखरेलले भारतवाट आएकावाट प्रदेशमा कोरोना संक्रमित बढेको स्पष्ट पार्नु भयो । प्रदेशमा भारतवाट आएका र तिनको व्यवस्थापनमा लागेकाहरुलाई कोरोना संक्रमित देखिएको बताउदै उहाँले भारतवाट आउनेहरु कै कारण प्रदेशमा कोरोना संक्रमित बढेको स्पष्ट पार्नु भयो ।

प्रदेशमा कोरोना संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिने तर स्वाब परिक्षण पोजेटिभ आउने गरेकाले पनि चुनौति थपिएको उहाँले बताउनु भयो । उहाँले यो वर्ष वजेटमा नयाँ कार्यक्रम ल्याउने भन्दा पनि वर्तमान असहज परिस्थितीलाई कसरी समाधान गर्ने भन्ने विषयमा केन्दित रहने जानकारी गराउनु भयो ।

उहाँले प्रदेशमा कोभिड १९ को परिक्षणको दायरा बढाउने र संक्रमितलाई विशेष आईसोलेशन अस्पतालमा व्यवस्थित रुपमा उपचार गर्ने गरि कार्य भैरहेको जानकारी गराउनु भयो । यही जेठ १० गते प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७७। ०७८ को नीति तथा कार्यक्रमप्रस्तुत गर्नु भएकोमा प्रदेश सभाले धन्यवाद प्रस्ताव पारित गरेको थियो ।

उद्योग मन्त्री लिला गिरीले वजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नु भएको थियो । विधेयक माथि छलफल गदै प्रदेश सदस्य सन्तोष पाडेले अर्थ विधेयक भनिए पनि यसलाई नियमित वजेटवाट व्यवस्थागर्न माग गर्नु भयो ।

प्रदेश सभा सदस्य रमा अर्यालले विधेयक समसामयिक र महत्वपुर्ण रहेको तर ढिला आएको तथा कार्यान्वयनलाई प्रभावकारी बनाउन माग गर्नु भयो । अर्का प्रदेश सभा सदस्य तुलाराम घर्तिमगरले विधेयक राम्रो रहेको धारणा राख्नु भएको थियो ।

सभामा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले स्थानिय तहका पदाधीकारी तथा सदस्यहरुले पाउने पारिश्रमिक सम्बन्धी तथा लोक सेवा आयोगका पदाधीकारीकोे पारिश्रमिक सम्बन्धी प्रतिवेदन सभामा प्रस्तुत गर्नु भएको थियो । अर्को बैठक बुधवार ११ वजे वस्ने भएको छ ।