कोरोना संक्रमित बढ्नुका साथै डिस्चार्ज हुने १ सय १२ पुगे

0
Shares

भगवती तिमल्सिना,काठमाडौं ।

एक साता अघि मृत्यु भएका समेत नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मिडिया ब्रिफिङमा दिनुभएको जानकारी अनुसार अछाम, बर्दिया र बारामा गरी ७ जनामा संक्रमण छ ।

नयाँ संक्रमितहरुमा सेती अस्पतालमा परीक्षण गर्दा अछाम अस्पतालमा उपचाररत ३२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराईयो ।भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा बर्दिया गुलरिया १० र २ का क्रमश २२ र २४ बर्षका पुरुष र १८ बर्षका महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा जोराभवानीपुर गाँउपालिकाका २८ बर्षका पुरुष र कलैयाका ३४ बर्षका पुरुषमा संक्रमण देखिएको हो । एकसाता अघि जेठ ४ गते नेशनल मेडिकल कलेजमा मृत्यु भएका बारा कलैयाँका ७० बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा.देवकोटाले जानकारी गराउनुभयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।पाटन अस्पताल, टेकु अस्पताल, नारायणी अस्पताल तथा कपिलवस्तु अस्पतालबाट कुल २५ जना डिस्चार्ज भएका छन् ।

यो संगै डिस्चार्ज हुनेको संख्या १ सय १२ पुगेको छ । संक्रमित मध्ये सिन्धुपाल्चोककी २ ९ बर्षिय सुत्केरी महिला बाँकेका २५ बर्षिय पुरुष गुल्मीका ४१ बर्षिय शिक्षक र कलैयाँका ७० बर्षिय पुरुष सहित ४ जनाको मृत्यु भएको छ । ५ सय ६६ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको डा.देवकोटाले जानकारी गराउनुभयो ।