विभिन्न जातजाति र समुदायले मुलुकलाई रङ्गीन बनाएको छ : मुख्यमन्त्री पोखरेल

0
Shares

यमलाल भुसाल, बुटवल ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको बताउनु भएको छ ।

उहाँले संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको बताउनु भयो । संवैधानिक व्यवस्था अनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएको उहाँको भनाइ रहेकोछ ।

इस्लाम धर्मालम्बीहरुको महत्वपुर्ण पर्व इद–उल–फितर (ईद)को अवसरमा सोमबार शुभकामना सन्देश दिदैं मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधता भएको मुलुक नेपालमा विभिन्न जातजाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको बताउनु भयो ।

“विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएका छन्, ईद पर्वले पनि समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ, शुभकामना सन्देशमा भनिएको छ ।
“संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास लिएको छु, शुभकामना सन्देशमा उल्लेख छ ।”नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेको मुख्यमन्त्री पोखरेलको भनाइ रहेकोछ । त्यसको लागि राजनीतिक, प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।“कोभिड–१९ को जोखिम न्युनीकरणका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्न नागरिकको साथ आवश्यक पर्छ, लडकडाउनको पालना गरी कोरोनाविरुद्धको संघर्षमा नागरिकले दिएको साथ प्रशंसनीय छ । लकडाउनका कारण नागरिकको दैनिक जीवन असहज भइरहेको हामीले बुझेका छौं, तर लकडाउनकै कारण कोरोना जोखिम न्युनिकरणमा बल पुगेको छ, सन्देशमा उल्लेख छ ।

यो कठिन समयमा कोही नागरिक भोक भोकै बस्नपर्ने अवस्था नआउने मुख्यमन्त्री पोखरेलको दावी छ । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रबन्ध मिलाइएको छ, अब राहत पाउनुपर्ने वर्गलाई श्रमयुक्त रोजगारी दिने गरी काम अघि बढाइएको छ, शुभकामना सन्देशमा उल्लेख छ । कोरोना विरुद्धको संघर्षलाई जित्न सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक रहेको उनको भनाई छ ।

ईद पर्व मनाउँदा पनि सामाजिक दुरी कायम गरी मनाउनु मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमार्फत अपिल गर्नु भएको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर ेसीद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएकको छ । यसैबिच प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादव र सामुख पुर्ण बहादुर घर्तीले पनि इस्लाम धर्मालम्बीहरुको महत्वपुर्ण पर्व इद–उल–फितर (ईद)को अवसरमा सोमबार अलग अलग शुभकामना सन्देश दिनु भएको छ ।