आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, ७० जनाले गरे रक्तदान

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल तरुणदल चाँगुनारायण नगर समिति र नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

चाँगुनारायाण नगरपालिका वडा नं ३ वडा कार्यालयको प्राङ्गणमा संचालित रक्तदान कार्यक्रममा १० महिला र ६० पुरुष गरी ७० जना स्वयंसेवी रक्तदाताले रक्तदान गर्नु भएको थियो । बन्दाबन्दीका कारण रगत संकलनमा कमी आएकोले त्यसको सहज आपूर्तिको लागि झौखेल उपशाखासंग समन्वय गरी मानवीय सेवा कार्य अन्तर्गत आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरीएको नेपाल तरुणदल चाँगुनारायण नगर समितिका अध्यक्ष गोविन्द थापाले बताउनुभयो ।

मानवीय सेवा कार्यमा आफ्नो उपस्थिती दर्शाउदै आएकोे उपशाखाले वार्षिक रुपमा ३ देखि ४ पटक नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आएको उपशाखाका सभापति धर्मेन्द्र थापाले बताउनुभयो । झौखेल उपशाखाका पूर्व सभापति दिनेश थापाको संयोजकत्वमा सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा भक्तपुरका प्राविधिकहरुले रगत संकलन कार्य गर्नुभएको थियो भने ११ जना स्वयंसेवी रक्तदाताले पहिलो पटक रक्तदान गर्नुभएको थियो ।

रगत नपाए भक्तपुर जानु भन्ने उक्तिलाई चरितार्थ गर्दै माग अनुरुप रगत तथा रक्त तत्वहरुको आपूर्ति गर्नको लागि विभिन्न संघसस्थाहरुसंग समन्वय गर्दै आकस्मिक रक्तदान कार्यक्रम संचालन गरी रगत संकलन गर्दै आएको कुरा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोज कुमार थापाले बताउनुभयो । उहाँले कोभिड १९ को महामारीका कारण बन्दाबन्दीको अवस्थामा पनि सामाजिक दुरी कायम गरी सुरक्षाका उपाय अवलम्बन गर्दै रक्तदान कार्यक्रमको आयोजना भैरहेको बताउनुभयो ।