वर्षाको विज्ञप्तिमा झुटको खेती

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नायिका वर्षा राउतले नेपाल भारतको विषयलाई लिएर भारतिय साथीभाईसँग अनुहार देखाउन गाह्रो भएको भन्दै गरेको टिप्पणीको चारैतिरबाट तीब्र आलोचना भएपछि यसलाई छायाँमा पार्न अर्को झुट बोलेकी छिन्।

‘दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्। मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ’ भन्ने आफ्नो अभिव्यक्ति चौतर्फी विरोध भएपछि वर्षाले एक विज्ञप्ति प्रकाशित गर्दै झुट बोल्ने प्रयास गरेकी छिन्।

उक्त भिडियो अन्तर्वार्ता सबैले हेरिसके पनि वर्षाले विज्ञप्तिमा भनेकी छिन् ‘मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला, जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान्।’ उनले आफुले प्रष्टरुपमा बोलेको शब्दलाई पनि गलत अर्थ लागेको भन्दै झुट बोल्ने प्रयास गरेकी हुन्।

‘एउटा अन्तर्वार्तालाई लिएर जुन होहल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ। हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला, तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथितल परेकी छैन’ विज्ञप्तिमा उनले भनेकी छिन् ‘यस्तो संवेदनशील समयमा भड्काउ तत्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन्। जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ। यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस् मैले यही भन्न खोजेकी हुँ।’ वर्षाले अन्तर्वार्तामा एकथरी भने पनि त्यसलाई विज्ञप्तिमा सच्याउने प्रयास गरेकी छिन् ।