विदेशबाट फर्किने जिल्लावासीका लागि क्वारेन्टाइन र आइसोलेसन निर्माण गरिदै

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

कोरोना संक्रमण फैलदै जाँदा विभिन्न प्रयोजनका लागि विदेशिएका जिल्लाबासी नागरिकहरुलाई सुरक्षित आफ्नो घर फर्काउन स्थानीयतहहरुले जिल्ला स्तरीय क्वारेन्टाईनका लागि सामुहिक तयारी गरेका छन् । जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकमा स्थानीय सरकारका प्रमुखएवं प्रतिनिधिहरुले उक्त निर्णय गरेका हुन् ।

बैठकको अध्यक्षता गर्दै प्रमुख जिल्लाअधिकारी श्रवणकुमार तिमल्सिनाले काभ्रे जिल्लाबाट भारत लगायतका अन्य मुलुकमा रहेका नागरिकहरुको तथ्याङ्क प्रारम्भिक रुपमा ११ हजार ५ सय ८७ रहेको जानकारी गराउनुभयो । जस अनुसार भारतमा मात्रै १ हजार १ सय २५ जना रहेका छन् । जसमध्ये महिला ३ सय १० जना र पुरुष ८ सय १५ जना छन् । पालिका स्तरमा विदेशिएका नागरिकहरुको संख्या धुलिखेलमा ९ सय ९४, बनेपा ७ सय ३१, पनौती ५ सय ६४, पाँचखाल १ हजार ३ सय २५, नमोबुद्ध १ हजार २ सय १२, मण्डनदेउपुर नगरपालिका १ हजार ३ सय ६९, रोशी गाउँपालिका ४ सय ९३, तेमाल गाउँपालिका ४ सय १७, भुम्लु गाउँपालिका ६ सय ३७, चौरी देउराली १ हजार ८१, महाभारत गाउँपालिका ५ सय ९७, खानीखोला गाउँपालिका २ सय १२ र बेथान्चोक गाउँपालिका ८ सय ३० जना छन् । एकै पटक सबै नेपाल नफर्किए पनि भारतबाट फर्कनेहरुको संख्या एकै पटक हुन सक्ने अनुमान स्थानीय सरकारले गरेका छन् ।

बैठकले नेपालभित्रका संक्रमित जिल्लाबाट पालिकामा फर्कने ब्यक्तिहरु समेतका लागि जिल्लामा ल्याई पिसिआर परिक्षण गराउने र परिक्षणको रिपोर्ट प्राप्त भएपछि सम्वन्धीत पालिकाले बुझेर लैजाने सहमति भएको छ । पालिकाहरुले धुलिखेल नगरपालिकाको खातामा नगरपालिकाहरुको हकमा ५ लाख र गाउँपालिकाको हकमा ३ लाख रुपैया जम्मा गर्ने र त्यहि रकमबाट धुलिखेल र बनेपामा ३/३ सय बेडको थप क्वारेन्टाईन बेड तयार गर्ने निर्णय गरेको छ । अन्य पालिकाहरुको हकमा भएका क्वारेन्टाईनहरुको संख्या बढाई अनिवार्य रुपमा १ सय बेडको बनाउने निर्णय गरेको छ । जिल्लामा ३ सय ४२ बेडको क्वारेन्टाईन तयारी अवस्थामा छ ।

त्यस्तै बैठकले क्वारेन्टाईनमा विरामी कुरुवाका लागि अलग्गै २५ बेडको क्वारेन्टाईन तयार गर्ने निर्णय गरेको छ । धुलिखेल अस्पताललाई ५० शैयाको आईसोलेनस वार्ड बनाउने, प्रस्तावित उक्त आईसोलेसन बेडको भौतिक तथा आर्थिक ब्यवस्थापनका लागि नेपाल सरकार, बागमति प्रदेश सरकार र जिल्लास्थित स्थानीय सरकारहरुसँग समन्वय गर्ने निर्णय गरेको संयोजक प्रमुख जिल्लाअधिकारी तिमल्सिनाले जानकारी दिनु भयो । त्यस्तै धुलिखेल अस्पतालमा हप्ताको दुई दिनमात्रै स्वाव संकलन गरिदै आएकोमा हरेक दिन स्वाब संकलन गर्ने ब्यवस्था मिलाउने साथै क्वारेन्टाईनको ब्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरुको ब्यवस्थापन स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाको संयोजकत्वमा स्वास्थ्य सेवा ब्यवस्थापनको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ ।

बैठकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, बेथान्चोक गाउँपालिकाका प्रमुख प्रेमबहादुर तिमल्सिना, खानीखोला गाउँपालिकाका प्रमुख कृष्णबहादुर खुलाल, नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, सहायक प्रजिअ लक्ष्मी होमागाई खतिवडा, विष्णु दल गणका गणपति प्रमुख सेनानी सुबास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्याल, शशस्त्र प्रहरी बल १५ नम्वर गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धान काभ्रेका प्रमुख सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुखडा. नरेन्द्रकुमार झा, धुलिखेल अस्पतालका प्रमुख प्रशासकिय निर्देशक रमेश माकजु, प्रवक्ता सुमन ताम्राकार लगायतको सहभागिता रहेको थियो ।