सुदूरपश्चिममा पाँच जना नयाँ कोरोना संक्रमित फेला

0
Shares

विमल विष्ट, डोटी ।

गएको ३५ दिनदेखि कोरोना संक्रमित नदेखिएको सुदूरपश्चिम प्रदेशमा आज शुक्रवार एकै चोटी पाँचजना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीमा तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमणको पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखि उपचार भइरहेको छ ।

निर्देशनालयका अनुसार कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिकाका एक जना र बैतडीको शिवनाथ गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरु पाँचै जनामा कोरोना संक्रमण भएको पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

भारतका बिभिन्न शहरबाट सुदूरपश्चिम भित्रिएका नागरिकहरुमा कोरोना संक्रमण फैलिन थालेको स्थानीयको अनुमान रहेको छ । यस अघिपनि सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना संक्रमण देखिएपनि उपचार पछि सबै निको भएर घर फर्किएको ुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले जानकारी दिनुभयो ।