श्रम गरेपछि मात्र राहत

0
Shares

लमजुङ ।

कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेकालाई श्रम गरेपछि मात्र राहत वितरण गरिने भएको छ । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकाको बुधबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले श्रमिक, मजदुर तथा विपन्न परिवारलाई श्रममा आधारित राहतको व्यवस्था गर्ने निर्णय गरेको हो ।

सो गाउँपालिकाले यसअघि एक हजार २०० परिवारलाई पहिलो चरणको राहत वितरण गरिसकेको जनाएको छ । अब गाउँपालिकाले श्रम गरेपछि मात्र राहत दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले श्रमका आधारमा राहत वितरण गर्नेछौँ । यसरी श्रम गरेर राहत दिँदा श्रमलाई माया गर्ने, विश्वास गर्ने र सबै कुरामा राज्यसँग निर्भर हुनु नपर्ने हुँदा राज्यलाई समेत कम भार पर्ने भएकाले श्रम गरेर मात्र राहत दिने निर्णय पालिकाले गरेको छ ।”

त्यस्तै सो बैठकले अत्यावश्यक वस्तुको ओसारपसारका लागि प्रयोग हुने सवारी साधन आवश्यकताको आधारमा सम्बन्धित वडाध्यक्षको सिफारिसमा मात्र सञ्चालन गर्न दिइने निर्णय गरेको छ । गाउँपालिकाभित्र रहेका सबै सरकारी तथा गैरसकारी सङ्घसंस्था, बैंक तथा वित्तीय क्षेत्र, अत्यावश्यक सेवा प्रवाह गर्ने व्यापार व्यवसायले स्वास्थ्य सुरक्षाका लागि मास्क, साबुनपानी तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।