क्वारेन्टिन व्यवस्थित नहुँदा सङ्क्रमित बढ्दै

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

पूर्वी दक्षिणी झापाको कचनकवल गाउँपालिकामा कोरोना सङ्क्रमणको आशङ्का गरिएका व्यक्ति राख्न निर्मित क्वारेन्टिन व्यवस्थापनमा लापरवाहीकै कारण सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।

कचनकवलमा भारत लगायत देशबाट आउने व्यक्तिलाई राख्न निर्मित क्वारेन्टिन मा भीडभाड बढेपछि त्यहाँ रहेका व्यक्तिमा कोरोना सङ्क्रमण जोखिम बढेको हो ।

कचनकवलका पाठामारी, केचना , घेराबारी लगायतका विभिन्न नाकाबाट मानिस प्रवेश गर्ने गरेका छन् । भारतबाट लुकीछिपी आउनेलाई सुरक्षाकर्मीले सिधै क्वारेन्टिनमा लैजाने गरेको छ । तर, गाउँपालिकाले निर्माण गरेका क्वारेन्टिन भवनहरू व्यवस्थित नभएकै कारण कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ ।

पथरिया माविको क्वारेन्टाइनमा बसेका २३ वर्षीय एक युवामा सोमबार परीक्षणका क्रममा पहिलो पटक कोरोना सङ्क्रमण देखिएको थियो । मङ्गलबारको परीक्षण रिपोर्टले नयाँ ९ जना ,वुधबार ५ जना र विहीबार विहान १० जना थपिएसँगै कचनकवलमा मात्र कोरोना सङक्रमितको सङख्या २५ पुगेको छ । सङ्क्रमित सबै १७ देखि ४६ वर्ष उमेर समूहका छन् । रोजगारीको सिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि पैदलै स्वदेश फर्किएका थिए ।

नेपाल प्रवेश गरेका उनीहरूलाई गाउँपालिकाले विभिन्न क्वारेनटाइनमा राखिएको कचनकवल गाउँपालिकाका क्वारेन्टिन संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष विजयकुमार राजवंशीले बताउँनुभयो । वडाध्यक्ष राजवंशीका अनुसार विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थित नभए कै कारण सङ्क्रमित बढ्दै गएको छ । सङ्क्रमित १० जना एउटै कोठामा नअटेपछि उनीहरूलाई क्वारेन्टिनमा बसेका अरूसँगै राखिएको थियो । जसका कारण अरूमा पनि सङ्क्रमण सर्ने खतरा रहेको छ । एउटा कोठामा नअटेपछि दुई जनालाई अरू सातजना भएको कोठामा राखेको थियो । त्यतिमात्र नभइ सङ्क्रमित र अरू क्वारेनटाइनमा बसेका सबैले प्रयोग गर्ने शौचालय समेत एउटै रहेको छ । जम्मा दुईवटा शौचालय रहेकोले सबैले एउटै शौचालय प्रयोग गर्दै आएका छन् । सिमावर्ती क्षेत्रका स्थानीय तहमा खुला सीमाबाट लुकिछिपी आउने नागरिकका कारण हैरान भएको स्थानीयको भनाइ छ ।

क्वारेन्टिनमा रहेका मानिसको खानपान, बसोबास हेर्दा विवाह, व्रतबन्ध भोजमा सामेत भए जस्तो सामुहिक शैलिको देखिने गरेको छ । एक जना सङ्क्रमितका कारण सवै सङक्रमित हुनु पर्ने अवस्था क्वारेन्टिनबाटै निर्मित भएको व्यक्तिहरूको गुनासो छ । भारतसँग सीमा जोडिएको कचनकवलमा सङ्क्रमण देखिएपछि गाउँपालिका जेठ ११ गते सम्म सिल गरेको छ ।

पछिल्लो समय दैनिक ५० जनाको हाराहारिमा मानिस कचनकवल छिर्ने गरेको सशस्त्र प्रहरी विओपि केचनाका इन्सपेक्टर लोकबहादुर तामाङले बताउँनुभयो । गत शनिबार यता देखी बुधबार रातिसम्म २२४ जना प्रवेश गरिसकेको उहाँले जानकारी दिनुभयो । उनीहरुलाइ सोझै व्यवस्थित तवरले विभिन्न्न क्वारेन्टिनमा राखिएको छ । उता झापाको मुख्य प्रवेशद्धार काँकडभिट्टामा मङ्गलबार र बुधबार गरी करिब ६ सय ५० जना भारतबाट नेपाल प्रवेश गरिसकेका छन् । उनीहरुलाइ विभिन्न क्वारेनटाइनमा व्यवस्थापन गरिएको छ ।