झापाका सीमा नाकाबाट सात सय बढी नेपाली स्वदेश फर्किए

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

झापाका सीमा नाकाबाट तीनदिनमा सात सय बढी नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

उनीहरू सबै भारतका विभिन्न राज्यमा रोजगारी, अध्ययन, घुम्न गएका थिए । कोरोना त्रासपछि सीमा सिल भएपछि उनीहरू भारतमै अलपत्र परेका थिए । सबै भन्दा बढी काँकडभिट्टा नाकाबाट लुकिछिपी भित्रिएका छन् । काँकडभिट्टा नाकाबाट तीन दिनको अवधि करिब ६ सय ५० जना बढी भित्रिएको बताइएको छ । त्यसपछि भद्रपुर, कचनकवल, झापा र गौरीगञ्ज नाकाबाट भित्रिएका हुन् ।

नेपाल फर्किएका उनीहरूलाई स्थानीय तह र झापाका प्रहरी प्रशासनले नियन्त्रणमा लिएर सोजै क्वारेनटाइन पठाउन थालेका छन् । नेपाल सरकारले अलपत्र नेपालीलाई स्वदेश फर्काउन लिखित आदेश नदिएपछि सीमा नजिकै आइपुगेका उनीहरू लुकिछिपी आउन थालेका हुन् । भारतमा रेलसहित यातायातका सवारीसाधन चल्दा उनीहरू सबै जिल्लाका नाकाहरूबाट लुकिछिपी आएका थिए । लुकिछिपी झापाका सीमासम्म आइपुगेपछि उनीहरूलाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राइले बताउँनुभयो । उद्धार गरिएका सबैलाई सुरक्षित रूपमा क्वारेनटाइन पठाउने काम भइरहेको उहाँले बताउँनुभयो ।
जिल्लामा ९५० शैयाको क्वारेनटाइन

भारतका सीमा नाकामा रहेका नेपालीलाई ल्याएर राख्नका लागि जिल्लामा ९५० शैयाको होल्डिङ सेन्टर अर्थात् क्वारेनटाइन तयारी गरिएको छ । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा ३००, कलवलगुरीमा १००, बिर्तामोडस्थित कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युटमा २००, शिवसताक्षीस्थित राष्ट्र रमणीय आदर्श माविमा १५० दमकस्थित मानसरोवर इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी र मदन भण्डारी प्राविधिक शिक्षालयमा १००/१०० गरी जम्मा ९५० बेडको होल्डिङ सेन्टर तयार गरिएको कोरोना सङ्क्रकमण रोकथाम, अनुगमन तथा समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।