कोरोना सङ्क्रमित भेटिएपछि हलेसी तुवाचुङ नगरपालिका अनिश्चितकालीन बन्द

0
Shares

रामधन राई, खोटाङ ।

एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्दार गरेर ल्याइएका वडा नम्बर–७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै आज (मङ्गलबार)देखि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको हो ।

एक युवकमा कोरोना भाइरसको सङ्क्रमण फेला परेसँगै नगरपालिका प्रवेश गर्न र नगरपालिकाबाट बाहिरिन पूर्णरुपमा रोक लगाइएको नगरप्रमुख इवन राईले बताउनुभयो । “युवकमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन उनको गाउँसँगै जोडिएको हलेसी बजारलाई समेत पूर्णरुपमा सिल गरिएको छ”, उहाँले भन्नुभयो, “यसअघिसम्म अत्यावश्यक सामग्री किनमेलका लागि बिहान र बेलुका खुला गर्ने गरिएको हलेसी बजारसमेत आजदेखि पूर्णरुपमा ठप्प पारिएको छ ।”

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल खोटाङको हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन तथा एक वडाबाट अर्को वडा आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको जनाइएको छ । सङ्क्रमित युवकको घरलाई हिजो सोमबार साँझदेखि नै पूर्ण रुपमा सिल गरिएको नगरप्रमुख राईले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण भए/नभएको यकिन गर्न नगरपालिकाबाट धरान पठाइएका ३३ जनाको स्वाबमध्ये सोमबार साँझ उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । काठमाडौँमा बसिरहेको अवस्थामा बन्दाबन्दीको मारमा परेका स्थानीय बासिन्दालाई नगरपालिकाले उद्दार गरेर गाउँ ल्याउनेक्रममा उनी बा ४ ख २२११ नम्बरको बसमार्फत गाउँ आएका थिए ।

कोरोनाको सङ्क्रमित युवकलाई सोमबार साँझदेखि नै आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । प्रजिअ पौडेलका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेको सङ्क्रमित युवकलाई उपचारका लागि बिराटनगरस्थित कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ ।

यस्तै सङ्क्रमित युवकका आठ जनाको परिवार, उनीसँगै बसमा यात्रा गरेका ५१ जना व्यक्ति, उनको संसर्गमा बसिसकेका व्यक्ति लगायतगरी ५० जनाको पिसिआर टेष्टका लागि अहिले स्वाब सङ्कलन गरेर पठाउने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सह-संयोजक प्रकाश घिमिरेले बताउनुभयो । हाल सङ्क्रमित युवकसँगै यात्रा गरेका व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।

सङ्क्रमित युवक चढेको बसमा उनीसँगै जिल्लाकै अन्य स्थानीय तहका व्यक्तिले समेत यात्रा गरेर आएको हुन सक्ने अनुमान गरिएको छ । सङ्क्रमित युवक होम क्वारेन्टिनमा बसेको भनिएपनि उनी गाउँमा सञ्चालन भइरहेको खानेपानी योजनाको काममा समेत संलग्न भएका थिए ।

सो आयोजनाको काममा संलग्न व्यक्तिमा समेत कोरोना भाइरसको सङ्क्रमण फेलिएको हुनसक्ने भएकाले उनीहरु सबैको पिसिआर टेष्ट गर्ने तयारी गरिएको वडाध्यक्ष चइन्द्र राईले बताउनुभयो । पिसिआर टेष्टका लागि स्वाब सङ्कलन गर्न जिल्ला अस्पताल खोटाङबाट दक्ष जनशक्तिसहितको टोली हलेसी पुगेका छन् ।

सङ्क्रमित युवक काठमाडौँको पेप्सीकोलास्थित भाडाको घरमा बस्दै आएको र उनी काठमाडौँकै एक सहकारी संस्थामा सङ्कलकको काम गर्दै आएको स्रोतले जनाएको छ । गाउँमा हुने सामाजिक काममा समेत सक्रिय युवकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।