गल्याङ नगरपालिकामा ‘शिक्षक मेरो साथी’ अभियान सुरु

0
Shares

अमृत अर्याल, स्याङजा ।

स्याङ्जाको गल्याङ नगरपालिकामा शिक्षक मेरो साथी अभियान सुरु भएको छ ।

गल्याङ नगरपालिका शिक्षा समितिको आह्वानमा नगरपालिकाका प्रधानाध्यापकहरुको बैठकले शिक्षक मेरो साथी अभियान सुरु गरेको हो । बन्दाबन्दी (लकडाउन) का कारण नगरपालिकाका विभिन्न चार ठाउँमा चार तहमा भएको प्रधानाध्यापकहरुको बैठकले ‘शिक्षक मेरो साथी’ अभियान सुरु गर्ने निर्णय गरेको शिक्षा समितिका सदस्य राजेन्द्रदेब खनालले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत पठनपाठन हुन नसकेको अवस्थामा विद्यार्थी तथा अभिभावकहरुसँग निरन्तर सम्पर्कमा रहने, सचेतना जगाउने, नगरपालिकामा पीडितहरु देखिएमा नगरपालिकासँग समन्वय गर्ने, गराउने लगायतका कार्यहरु हुने उहाँले जानकारी दिनुभयो ।

यस्तै, स्थानीय उत्पादनमा प्रोत्साहीत गराउने, उत्पादित वस्तु विक्री वितरणका लागि नगरपालिकासँग समन्वय गर्ने तथा सबै खाले आवश्यक सहयोगका लागि भूमिका खेल्ने निर्णय पनि बैठकले गरेको छ ।

दुरसञ्चार कम्पनीले दिएको भ्वाइस प्याक लगायतका सुविधाको उच्चतम प्रयोग गर्दै प्रत्येक अभिभावक र विद्यार्थीसँग दैनिक रुपमा समन्वय गर्ने निर्णय पनि भएको छ । लकडाउनको कारण पाठ्यपुस्तक वितरण गर्न समस्या भएको अवस्थामा विभिन्न सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यमबाट भैरहेका सिकाईका अभ्यासहरुलाई उपयोग गर्न पनि बैठकले आह्वान गरेको छ ।

नगरपालिकाबाट पाठ्यपुस्तकका लागि बजेट निकासा भएपनि व्यवसायीहरुले पुस्तक खरिद गर्ने अवस्था नभएको भन्दै बैठकले अन्य माध्यमको प्रयोगमा जोड दिइएको खनालले जानकारी दिनुभयो । यस्तै, बैठकमा पाठ्यपुस्तक, छात्रबृत्ति, शैक्षिक गुणस्तर सुधार, विद्यार्थी लागत अनुदान लगायतमा पनि छलफल भएको छ ।

लकडाउनका कारण गल्याङ नगरपालिकाका चार स्थानमा कार्यसम्पादन मुल्याङ्कन फाराम सम्बन्धि अभिमुखिकरण सहितको बैठक गरिएको सदस्य खनालले स्पष्ट पार्नुभयो । गल्याङ नगरपालिकाको वडा नम्बर १, २ र ४ का १६ वटा विद्यालयको बैठक शिवालय मावि गुठीमा गरिएको थियो । यस्तै, वडा नम्बर ५ र ६ का १७ वटा विद्यालयको बैठक चितुङमा तथा वडा नम्बर ८, ९ र १० का १४ वटा विद्यालयको बैठक महेन्द्र दर्शन मावि तिन्दोवाटेमा गरिएको थियो । गल्याङ नगरपालिकामा वडा नम्बर ३, ७ र ११ का १६ वटा विद्यालयका प्रधानाध्यापकहरुको बैठकले समिक्षा सहित शिक्षकहरुले यस अवस्थामा गर्नुपर्ने कामको बारेमा छलफल गरेको थियो ।

बैठकमा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले विद्यालयहरु खोल्ने अवस्था नभएपनि निरन्तर विद्यार्थीको सम्पर्कमा रहन आग्रह गर्नुभएको थियो ।