प्रस्थान बिन्दुमै कोरोना परीक्षण गरी उपत्यका प्रवेश गराऔँः काठमाडौँ महानगरपालिका

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो ।

‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु ९नाका० हरुबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी मानिसहरु उपत्यका प्रवेश गर्ने क्रम अहिले पनि नरोकिएको गुनासो आएको छ,’ काठमाडौँ महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘ काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा वढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय बैठकमा भएको छ ।’

त्यसैगरी लकडानउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामको लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान विन्दुमै कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गरी कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । ‘लकडाउनको उलंघन गरी अनुमति नलिई लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाई समेत उच्च निगरानी गरी कानुन बमोजिम कार्वाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई आग्रह गरेका छौँ,’ डंगोलले भन्नुभयो, ‘नेपाल सरकारबाट जारी कोेरोना भाइरस (कोभिड१९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम काठमाडौं महानगरपालिका क्षेत्रमा आवश्यक संख्यामा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्न र आवश्यकतानुसार सःशुल्क क्वारेन्टाइन सञ्चालनको व्यवस्था मिलाउन पनि हामीले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह गरेका छौँ ।’

कोभिड–१९ को संक्रमणको विस्तारलाई प्रभावकारी ढंगले रोकथाम गर्न अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरस सम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको डंगोलले जानकारी दिनुभयो ।

‘अत्यावश्यक कामको लागि काठमाडौं प्रवेश गर्न संघीय मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयहरुबाट जारी अनुमतिपत्र (पास) बाट काठमाडौं प्रवेश गर्ने व्यक्तिको विवरण अद्यावधिक गरी निजको निगरानी गर्न आवश्यक देखिएकोले सम्बन्धित निकायले पास जारी गर्दा नै निजहरु काठमाडौंमा आई बसोबास गर्ने पालिका, वडा, टोल, सम्पर्क फोन नं। र घरधनीको नाम सहितको विवरण लिनुपर्ने र सो विवरण काठमाडौं महानगरपालिकालाईसम्वन्धित कार्यालयलाई उपलब्ध गराउन भनेका छौँ,’ उहाँले भन्नुभयो, ‘लकडाउनको अवधिमा काठमाडौंमा बसोबास गर्ने कोही पनि भोकै बस्न नपरोस भन्ने उद्देश्यले कामपाले सबै वडाहरुमार्फत राहत वितरणको कार्य सञ्चालन भइरहेकोमा असहाय व्यक्तिहरु वाहेक दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु र बेरोजगारको लागि तोकिए बमोजिम श्रममा आधारित राहत सहयोग मात्र वितरण गर्ने ब्यवस्था गर्दा दिगो हुने हुदा सो का लागि कार्यविधि तयार गरी कार्यन्वयन गर्ने निर्णय भएको छ ।’

कोभिड १९ को संक्रमण वढ्दै गएको र यसको लागि लकडाउनको अवधि पनि थप हुँदै गएको सन्दर्भमा समाजमा चोरी, घरेलु हिंसा, मानसिक रोग जस्ता सामाजिक समस्याहरु देखापर्ने सम्भावना देखिएकोले यसको रोकथाम र नियन्त्रणको लागि सुरक्षा निकायको भूमिका र सक्रियता थप प्रभावकारी बनाउन गृह मन्त्रलायलाई अनुरोध गर्ने, लकडाउनको अवधिमा दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्रको औषधि, ग्यास र खानेपानी पसल वाहेक अन्य खाद्यान्न, फलफूल र तरकारी पसलहरु दैनिक विहान १० बजेसम्म मात्र सञ्चालन गर्न आवश्यक समन्वय सम्वन्धित निकायवाट गर्ने गराउने जस्ता निर्णय पनि बैठकले गरेको छ ।

‘काठमाडौं महानगरपालिकाका सबै वडा समितिहरुले लक डाउनको अवधिमा विदेश/उपत्यका वाहिरबाट आएर आफ्नो वडामा बसोबास गर्दै आएका व्यक्तिको विवरण तोकिएको ढाँचामा राख्ने, उनीहरुकोे निगरानी गर्ने, स्वास्थ्य परीक्षण गरे नगरेको विवरण अद्यावधिक गर्ने र सो सम्बन्धी एकीकृत विवरण वडा कार्यालयहरुले दैनिक रुपमै प्रशासन विभागमा पठाउने व्यवस्था मिलाउने निर्णय भएको छ,’ उहाँले भन्नुभयो ।