डब्ल्यूएचओको मापदण्डअनुसार स्वास्थ्यकर्मी खटाउन चिकित्सक संघको माग

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा अग्रपंतिmमा रही अत्यन्तै जोखिमका बाबजुद पनि स्वास्थ्य सेवा प्रवाह गरेका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमा समेत यो संक्रमण देखिन शुरु गरेको सबैमा बिदितै छ ।

स्वास्थ्य सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मीबाटै स्वास्थ्य सेवाग्राही, घर परिवार तथा समाजमा कोरोनाको संक्रमण फैलन सक्ने गम्भिर परिस्थितिलाई मध्यनजर राख्दै नेपाल सरकार तथा सरोकारवाला निकायले विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिमका सुरक्षाका सामग्रीहरुको उपयोग र पिसिआर परीक्षण पश्चात् मात्र स्वास्थ्य सेवा प्रवाहमा समावेश हुने सुरक्षित वातावरण तयार गर्न नेपाल चिकित्सक संघ हार्दिक अपिल गर्दछ ।

देशभर भाडामा बसी निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई घरधनीहरुले घरमा आउन नदिने, वा घरबाट बाहिर बस्न दबाब सिर्जना गर्ने, आवागमनका क्रममा दुव्यवहार गर्ने, होटल तथा रेष्टुरेष्टहरुले खाना उपलब्ध नगराउने जस्ता अत्यन्तै अमानवीय क्रियाकलापले नीजहरुको मनोबल गिराउने कार्य भएकोमा घरधनी लगायतका सरोकारवाला पक्षले यस आपतकालिन अवस्थामा मानविय धर्म निर्वाह गर्न नेपाल चिकित्सक संघ आग्रह गर्दछ ।

साथै आफ्नो ज्यानलाई जोखिममा राखी निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई स्वास्थ्य संस्थाको नजिकै बैकल्पिक व्यवस्थापन गरी एकान्तवासमा बस्ने, खानपिनको उचित व्यवस्था गर्ने तथा नीजहरुको प्रेरणा बृद्धि गराउनका लागि तालिम, नेपाल सरकारले घोषणा गरे बमोजिमको भत्ता, सेवा सुविधा अबिलम्ब उपलब्ध गराउँदै यस महामारीसँग जुध्नका लागि सबैले आ आफ्नो क्षेत्रबाट समन्वयात्मक र सहयोगात्मक भूमिका निवार्ह गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।

मानवजीवनकै कहालीलाग्दो स्वास्थ्य संकटको बिद्यमान अवस्थामा स्वास्थ्य क्षेत्रमा देखा परेका उल्लेखित समस्याहरुको दीर्घकालिन समाधानका लागि स्वास्थ्य सेवा ऐनले व्यवस्था गरे बमोजिम स्वास्थ्य मन्त्रालयको नेतृत्वदायी भूमिका चिकित्सकबाटै हुनु पर्ने यस संघको स्पष्ट मान्यता छ । त्यसैले हाल स्वास्थ्य सचिवको दरबन्दी समेत खाली रहेको, कोरोना भाइरसको रोकथाम र व्यवस्थापनका लागि स्वास्थ्य क्षेत्रको प्राविधिक शिक्षा हाँसिल गरेका चिकित्सककै नेतृत्वको सुनिश्चितता गर्न समेत यस संघ जोडदार माग गर्दछ ।

उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने जुनसुकै व्यक्तिहरुलाई कार्यसम्पादनमा बाधा, विरोध गरे सरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने नेपाल सरकारको निर्णयलाई कानूनकै रुपमा स्याथी व्यवस्थापन गरी दीर्घकालिन रुपमा स्वास्थ्यक्षेत्रलाई शान्तिपूर्ण क्षेत्रको रुपमा परिणत गरेर देशभर मानबीय जीवन बचाउन अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबललाई उच्च पार्न समेत नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ । संघका महासचिव डा.बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।