तीन संस्थाद्वारा तिलोत्तमाको राहत कोषमा साढे ३ लाख बढी सहयोग प्रदान

0
Shares

यमलाल भुसाल, बुटवल ।

तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा तीन वटा संस्थाले सोमबार ३ लाख ५७ हजार रुपैंयाँ सहयोग गरेका गरेका छन् । करहिया-मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, छत्तीस मौंजा सामुदायिक सिंचाई प्रणाली र सोह्र-छत्तीस संयुक्त सिंचाई प्रणालीको तर्फबाट कोषमा रकम प्रदान गरिएको हो ।

खानेपानी संस्था र संयुक्त सिंचाई प्रणालीको तर्फबाट दुवै संस्थाका अध्यक्ष यज्ञ गैरे तथा छत्तीस मौंजाको तर्फबाट अध्यक्ष कृष्ण पौडेलले नगर प्रमुख बासुदेव घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । खानेपानीले १ लाख ५१ हजार, छत्तीस मौंजा सिंचाईले १ लाख ५ हजार तथा संयुक्तले १ लाख १ हजार सहयोग गरेका हुन् ।

त्यस अवसरमा नगर प्रमुख घिमिरेले कोषमा हालसम्म संकलन र खर्च भएको रकमको बारेमा जानकारी गराउँदै प्राप्त रकमलाई कोरोना महामारी रोकथाममा खर्च गरिने बताउनुभयो । उहाँका अनुसार कोषमा हालसम्म झण्डै एक करोड रकम संकलन भएकोमा राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन सेन्टर स्थापनालगायतका कोरोना महामारी रोकथाम पूर्वतयारीको काममा ९० लाख खर्च भैसकेको छ ।

हालसम्म नगरपालिकाले कोरोना महामारी रोकथामको लागि आफ्नो कोषको रकम खर्च गर्नु नपरेको बताउँदै नगर प्रमुख घिमिरेले राहत कोषमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिनुभयो । कोरोना महामारी रोकथाम तथा उपचारको लागि अग्रपंक्तिमा रहेर काम गर्नेहरुको मनोबल उच्च पारिनुपर्ने बताउँदै उहाँले लकडाउन सम्बन्धी नगरपालिकाको सूचनालाई पूर्णपालना गर्न सबै नगरबासीलाई आग्रह गर्नुभयो ।

खानेपानी र संयुक्त सिंचाईका अध्यक्ष यज्ञ गैरेले नेपालमा कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले सामाजिक उत्तरदायित्व ठानेर संस्था आर्थिक रुपमा बजबुद नरहँदा नरहँदै पनि नगरपालिकाको कोषमा सहयोग गरिएको स्पष्ट पार्नुभयो । कोरोना रोकथाम तथा त्यसका असर न्यूनीकरणको लागि नगरपालिकाले गरेका र अघि सारेका कामहरु निकै प्रशंसनीय रहेको चर्चा गर्दै उहाँले नगरपालिकाले ल्याउने हरेक योजनामा सहकार्य गर्न आफूहरु तयार रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नगरपालिका, तीन वटै संस्थाका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।