सेनाको अस्पताललाई कोभिड १९ विशेष अस्पतालको रुपमा प्रयोग गरिने

0
Shares

यमलाल भुसाल, बुटवल ।

प्रदेश ५ को प्रादेशिक कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आईतवार वसेको बैठकले क्वारेन्टाइन र आइसोलेसन सेण्टरलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन तथा व्यवस्थापन गर्न विभिन्न १९ बुदे कडा निर्देशन जारी गरेको छ ।

प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलकोे अध्यक्षतामा बसेको प्रादेशिक कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले मित्रराष्ट्र भारतबाट नेपाल आउने व्यक्ति बढदै गएको सन्दर्भमा हालसम्म पनि क्वारेण्टाइनको व्यवस्था नगरेका नेपाल भारत सीमाका भंसार नाकामा रहेका पालिकाहरुले प्राथमिकताका साथ कम्तिमा १हजार बेडको क्वारेण्टाइन तयार गरी व्यवस्थित संचालन गर्न निदेशन दिने निर्णय गरेको छ ।

त्यस्तै भारतबाट आफ्नो पालिकामा आउन सक्ने व्यक्तिहरुको आँकलन गरी सम्बन्धित सबै पालिकाले त्यसरी आउने व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरी आवश्यक पूर्व तयारी गर्ने, हाल संचालनमा रहेका क्वारेन्टाइनलाई सुविधा र पूर्वाधारहरुको विश्लेषण गरी आइसोलेसन सेण्टरका रुपमा विकास गर्न सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

बाँके जिल्लामा कोरोना संक्रमितहरुको उपचारका लागि नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा संचालनमा ल्याउने व्यवस्था जिल्ला कोभिड १९संकट व्यवस्थापन केन्द्रले मिलाउने ,कोभिड १९ को प्रभाव बढी देखिएका जिल्लाका स्थानीय तहहरुमा परिक्षणको दायरा वढाउने र विरामीहरुसँग सम्पर्कमा रहनेहरुको कन्टयाक टेसिङ गरी उनीहरुको परिक्षण गर्ने व्यवस्था गर्ने । स्वाव संकलन गरिएका व्यक्तिहरु र अन्य व्यक्तिहरुलाई भौतिक दुरी कायम गरी बस्नका लागि परामर्श दिने निर्णय गरेको छ ।

त्यस्तै.कोभिड पोजिटिभ देखिएका तर रोगको गंभिर लक्षण नदेखिएका संक्रमितहरुलाई जिल्लाका विभिन्न अस्पतालमा छुट्याईएका आइसोलेसन वेडमा व्यवस्थित रुपमा राखी सम्वन्धित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले समन्वय गरी उपचारको व्यवस्था मिलाउने र भारतबाट विभिन्न सिमा नाका हुँदै प्रवेश गर्ने व्यक्तिहरु मध्ये तोकिएको अवधिसम्म भारतमा नै क्वारेण्टाइनमा बसी आएकाको हकमा सम्बन्धित जिल्लामा व्यवस्थित रुपमा पठाउने व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने तथा क्वारेण्टाइनमा नवसेका व्यक्तिहरुलाई क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाउने समेत बैठकले निर्णय गरेको छ ।

रुपन्देही जिल्लामा कोभिड १९ संक्रमण बढी रहेको सन्दर्भमा लुम्विनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप १ सय र भीम अस्पताल भैरहवामा थप ५० आईसोलेसन बेड तयार गरी सञ्चालनमा ल्याउने,.तराईका जिल्लाहरुमा कम्तिमा २ सय र पहाडी जिल्लाहरुमा कम्तिमा ५० बेडको आइसोलेसन सेण्टर बनाउनका लागि जिल्लास्थित कोरोना संकट व्यवस्थापन केन्द्रले जिल्ला अन्तर्गतका पालिकाहरुसँग समन्वय गरी निर्माण गर्ने निर्णय पनि गरेको छ । आइसोलेसन सेण्टर सम्वन्धित पालिकाहरुले निर्माण गर्ने र यस्ता सेण्टरमा बस्ने व्यक्तिहरुको खाना खर्च सामाजिक विकास मन्त्रालयले कोभिड १९ नियन्त्रण तथा उपचार कोषबाट उपलब्ध गराउने र वुटवलस्थित एन्फाको भवन र कोरिया नेपाल इन्सिच्युट अफ टेक्नोलोजिको भवनलाई आइसोलेसन अस्पतालका रुपमा प्रयोगमा ल्याउने व्यवस्था जिल्लास्थित कोरोना संकट व्यवस्थापन केन्द्रले गर्ने तथा सोको भौतिक पूर्वाधार व्यवस्थापन वुटवल उपमहानगरपालिकाले र संचालन व्यवस्थापन सामाजिक विकास मन्त्रालयले मिलाउन निर्णय गरेको छ ।

बाँके जिल्लामा कोभिड १९ संक्रमितहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएकोले नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताललाई कोभिड १९ विशेष अस्पतालको रुपमा प्रयोग गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

नेपालगञ्ज, वुटवल र भैरहवामा रहेका कोरोना विशेष अस्पतालमा संक्रमित विरामीको चाप बढी रहेको अवस्थामा तत्कालका लागि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा विरामी पठाउने व्यवस्था मिलाउने र कोभिड १९ संक्रमण थप फैलिन नदिन यस प्रदेशका सीमा नाका प्रयोग गरी आउने व्यक्तिहरुको चेकजाँच र निगरानीमा सुरक्षा निकायले आवश्यक समन्वय गरी थप कडाई गर्ने निर्णय पनि गरिएको छ ।

त्यस्तै यस प्रदेशका तराईका जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा बन्दावन्दीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने, सिमानाका बाहेकका अन्य स्थानबाट लुकिछिपी नेपाल प्रवेश गर्ने कार्यलाई प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकाय परिचालन गरी पूर्ण रुपमा नियन्त्रण र निषेध गर्नका लागि कडाईका साथ लाग्न निर्देशन दिएको छ ।

जिल्लास्तरको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक नियमित रुपमा बसी कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने , जिल्लास्तरमा बस्ने बैठकमा सबै पालिकाका प्रमुखहरु लगायत सबै सरोकारवाला समेत सहभागी हुने व्यवस्था मिलाउने र रुपन्देहीको गहुँवाली अनुसन्धान केन्द्रस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पूर्विभागमा रहेको खाद्य प्रविधि प्रयोगशालाको भवन प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोग गर्ने गरी हाल सो भवनमा रहेको क्वारेण्टाइन अन्यत्र सार्ने व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने निर्णय गरिएको छ ।

बैठकले सार्वजनिक निर्माण कार्यलाई सूचारु गर्न जिल्लाभित्र मात्र सो सँग सम्वन्धित सवारी तथा ढुवानीका साधनहरुलाई आवश्यकता अनुसार संचालनको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउन निर्देशन दिईएको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीद्धारा पेस नोटमा उल्लेख गरिएको छ ।