नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न हवाई फायर

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

गएराति झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

नेपाल प्रवेश गर्न खोजेका करिब डेढ सय जना भारतीयलाई रोक्न सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका एसपी रेशम कुमार थक्सूले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमानाको पिलर नम्बर १२५/१० मा घरेलु हतियार सहित भाला, लाठी लिएर पोष्टमा आक्रमण गर्न खोजेपछि हवाइ फायर गरिएको उहाँले जनाउँनुभयो ।

भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षा कर्मीसहित अस्थायी पोस्टमा आक्रमणको प्रयास गर्न खोजेपछि सशस्त्र प्रहरीले प्रतिकारमा हवाई फायर गरेको उहाँको भनाइ छ । सिमा क्षेत्रमा लगाएको मकै लिन आउने क्रममा सहमति विपरित आएकोले घटना भएको जिल्ला प्रहरीका एसपी कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो । घटनामा कुनै मानविय क्षति भने नभएको उहाँको भनाइ छ । प्रहरीले हवाइ फायर गरेपछि उनीहरू त्यहाँबाट भागेका थिए । आइतबार (आज)यस विषयमा भारतीय एसएसबीसँग छलफल हुने उहाँको भनाइ छ ।

केही दिनअघि झापा गाउँपालिका ४ स्थित सुकुमबासी बस्ती को १३१ नम्बर सीमा पिलर क्षेत्रबाट पनि भारतीयहरु नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले दुइ राउण्ड हवाई फायर गरेको थियो । घटनाको भोलि पल्ट भारतीय एसएसबीको सहकार्यमा भारतीय नागरिकहरूले गल्ती स्विकार्दै माफी मागेका थिए ।