कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानरपालिकाको वातावरण व्यवस्थापन बिभाग मातहतमा रहेका ९ सय ३२ कर्मचारी र कालीमाटी फलफुल तथा तरकारी बजार क्षेत्रका १ हजार ३४ गरी १९ सय ६६ जनाको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौँ महानरपालिका क्षेत्रभित्र बिहीबार र शुक्रबार गरी परिक्षण गरिएका १९ सय ६६ जनामै कोरोना संक्रमण नदेखिएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुष्टि गरेका छन् ।

‘कालीमाटी फलफुल तथा तरकारी बजार क्षेत्र सबै भन्दा बढी भिडभाड हुने स्थान हो,’ शाक्यले भने, ‘त्यहाँ भित्रबाट बिक्री हुने तरकारी, फलफुल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आयो । यो खुशीको कुरा हो ।’

उनले लकडाउनका बेला सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाका सफाई क्षेत्रका कर्मचारी खटिनुपर्ने भएकाले पहिलो परिक्षण नै त्यहाँ गरेको पनि उनले जानकारी दिए । ‘सफाई क्षेत्रमा काम गर्ने कर्मचारी धेरै छन् । उनीहरुलाई चिन्ताबाट मुक्त बनाउन हामीले सबैभन्दा पहिला सफाई क्षेत्रमा काम गर्ने कर्मचारीहरुको परीक्षण गरेका हौँ,’ उनले भने, ‘सबैको रिपोर्ट नेगेटिभ आयो ।

तर, यसको अर्थ अब लकडाउन उल्लघंन गर्नुपर्छ भन्ने होइन । लकडाउनको सबैले पूर्ण पालना गरेर अघि बढ्नुपर्छ । काठमाडौँ मात्रै होइन, उपत्यका र देशलाई नै कोरोनामुक्त बनाउन सम्पूर्ण व्यक्तिहरुले आ–आफ्नो ठाउँमा कोरानाविरुद्धको लडाईँमा एकजुट हुनुपर्छ ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले पनि दुबै ठाउँको परीक्षणको नतिजा नेगेटिभ आउनु खुशीको कुरा भएको भन्दै कोरोनाविरुद्धको लडाईँ जित्नका लागि सबै भन्दा ठूलो औषधी भनेकै सामाजिक दूरी कामय गर्ने र सेल्फ क्वारेन्टाइन भएको भन्दै सबैलाई यसको नियम पालना गर्न आग्रह गरे ।

‘अहिले दक्षिणतिरको छिमेकी मुलुक भारतमा संक्रमित बढी रहेका समाचार आइरहेका छन् । त्यसैले दक्षिणतिरको खुला सिमानाका कारण पनि हामीले अझै केही समय सजकता अपनाउनु पर्ने देखिएको छ,’ अर्यालले भने, ‘ती सिमानाबाट नेपालीहरु निर्वाधरुपमा आउने र त्यसैका कारण कोरोना अझ फैलिने डर भएकाले हामी सबैले सजकता अपनाउनुको अर्को विकल्प छैन ।’

उनले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र पनि कोही त्यस्ता व्यक्ति आएको जानकारी भए उनीहरुलाई परीक्षण गराउने, वडाका जनप्रतिनिधि वा प्रहरीलाई खबर गर्ने जस्ता कार्य गरेर सहयोग गर्न पनि आग्रह गरे । शुक्रबार महानरपालिकाको वातावरण व्यवस्थापन बिभागमातहतमा रहेका ६ सय ६४ जना कर्मचारीको आरडीटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) र २ सय ६८ को पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो ।

आरडीटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गरिएकोमा ३ जना महिला स्वास्थ्य स्वयम्सेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको थियो । त्यसपछि उनीहरुको पनि पीसीआर गरिएको थियो । उनीहरु बाहेक २ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको थियो । पीसीआर गरिएका सबैको नजिता नेगेटिभ आएको काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख हरि श्रेष्ठले जानकारी दिए ।

फोटो: उजोल डंगोल