कोरोना संक्रमणका कारण नेपालमा पहिलो मृत्यु

470
Shares

भगवती तिमल्सिना/मोतिराम तिमल्सिना, काभ्रे । 

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएकी पहिलो महिला सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे राम्चे गाउँपालिका वडा नं ९ की ३० वर्षीय ११ दिनकी सुत्केरी भएको अस्पतालले पुष्टि गरेको छ ।

उनलाई बिहिवार साती जटिल अवस्थामा काठमाडौ विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेल ल्याईएको थियो । अस्पतालले उपचारको थालनी गर्दागर्दै मृत्यु भएको जनाएको छ ।

मृतक महिला सामान्य परिवारको भएको र गत महिना २४ गते बाह्रविसे घरबाट सुत्केरी बेथा लागेपछि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल लगिएको र उनको पुरा महिना नपुगेको अवस्थामा नै सोही दिन नर्मल डेलिभरी भएको जानकारी परिवारले गराएको धुलिखेल अस्पतालका प्रसुति विशेषज्ञ डा. सुमन ताम्राकारले जानकारी गराउनुभयो । मृतकको पीसीआर परिक्षण रिपोर्ट धुलिखेल अस्पतालमा पोजेटिभ आएको र पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालामा पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने रिपोर्ट आउनै बाँकी रहेको जानकारी गराउनुभयो ।

परिवारले धुलिखेल अस्पताललाई दिएको जानकारी अनुसार २५ गते त्रिवि शिक्षण अस्पतालले सुत्केरी महिला र बच्चाको अवस्था सामान्य रहेकाले डिस्चार्ज गरि घर फर्काएको थियो । घरमा लगेदेखि सुत्केरी महिलालाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने समस्या बढेपछि जेठ १ गते स्थानिय सिन्धु सदावहार अस्पताल लगेको र सिन्धु अस्पतालले त्यहाँ उपचार हनु नसक्ने भन्दै धुलिखेल अस्पताल रिफर गरेको थियो । उनलाई धुलिखेल अस्पताल ल्याई पुर्याएपनि अस्पतालमा उपचार नहुँदै मृत्यु भएको अस्पतालले जनाएको छ । उनको यो दोस्रो बच्चा भएको र अहिले सम्म स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताले जनाएको छ । पहिलो बच्चा बाह्रविसेमै रहेको परिवारका सदस्यले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगी अस्पताल तथा चिकित्सक, सुरक्षा निकाय, जिल्ला स्वास्थ्य कार्यालय लगायतको टोलीसँग छलफल गरि कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरी महिलाको पशुपति स्थित इलेक्ट्रोनिक शबदाहगृहमा अन्त्यष्ठि गर्ने । लाश अस्पतालबाट पशुपति लैजाने तयारी भैरहेको छ ।

मृतकका श्रीमान, आमा, भाई र बैनी र बच्चाको परिक्षणका लागि स्वाब संकलन भैसकेको छ । आफन्त सबैलाई धुलिखेल अस्पतालको आईसुलेसनमा राखिएको छ । सुत्केरीको मृत्युपछि अस्पताल सिल्ड गरि ट्रेसिङ लिने काम भैरहेको अस्पतालले जनाएको छ ।

११ दिन अघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भै घर फर्किएकी सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा आज बिहान देखिनै सिल्ड गरिएको छ । अस्पताल आउँदै गरेका एम्बुलेन्स समेत चोकबाट नै सुरक्षाकर्मीले फर्काएर्काएका छन् ।