प्रसूतिको मृत्यु, कारण ‘भन्न नमिल्ने’ !

कोरोनाका कारण पहिलो मृत्यु ?

0
Shares

भगवती तिमल्सिना,काठमाडौं ।

काठमाडौं विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेलमा बिहिवार बेलुका गम्भीर अवस्थामा भर्ना गरिएकी सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्युपछि अस्पताल सिल गरिएको छ । एक साताअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भै घर फर्किएकी सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेकी ३० वर्षीया सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा शनिबार बिहानदेखि नै सिल गरिएको छ ।

अस्पताल आउँदै गरेका एम्बुलेन्ससमेत चोकबाट नै सुरक्षाकर्मीले अस्पताल ‘सिल गरिएको छ’ भन्दै फर्काएका छन्, प्रवेश गर्न दिएका छैनन् । मृतकको लाश शनिवार विहान झण्डै १० बजेको समयमा प्राइभेट नम्बर प्लेटको बलेरो गाडीमा राखी त्रिपालले छोपेर चालक मात्रले गाडीमा अस्पतालबाट बाहिर लगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

‘हामीलाई स्वास्थ्य मन्त्रालय र विभागले कारण नभन्न आदेश दिएका छन्, हामीले बोल्न मिल्दैन’ एक चिकित्सकले नाम उल्लेख नगर्न अनुरोध गर्दै नेपाल समाचारपत्रलाई भने– मृतक कोरोना भाइरस संक्रमण हुन्, तर मृत्युको कारण कोरोणा मात्र नहुनसक्छ । अस्पतालले तोकिएका सूचना अधिकारी तथा प्रसूति विशेषज्ञ डा. सुमन ताम्राकारले महिलाको मृत्यु भएको हो कोरोना संक्रमण भए–नभएको बिषयमा आफूलाई जानकारी नभएको बताउनुभयो ।

उहाँले कोरोना संक्रमणको विषयमा परीक्षण गर्ने टोली छुट्टै हुने र त्यो रिपोर्ट सीधै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जाने हुनाले अस्पतालबाट थाहा हुन्न भन्नुभयो । मृतकको स्वाब लिई परीक्षण भैसकेको र कोरोना संक्रमण पुष्टि भैसकेको भए पनि सरकार तथा स्वास्थ्य मन्त्रालयले रिपोर्ट गोप्य राख्ने निर्देशन दिएकाले अस्पतालले सूचना गोप्य राखेको स्रोतको दाबी छ ।

सरकारले सूचना लुकाउन निर्देशन दिंदा स्वास्थ्यकर्मी, अन्य बिरामी, कर्मचारीका साथै अस्पताल वरिपरिका घर, पसल, मृतकका परिवारमा भने निकै त्रासको स्थिति सृजना भएको स्रोतले जनाएको छ ।

(थप समाचारका लागि खोजी जारी छ, पुष्टि हुनासाथ अपडेट गरिने छ : सम्पादक)