सीमा क्षेत्रमा नेपालीलाई खानाको व्यवस्था भएन : नगरप्रमुख

0
Shares

भद्रपुर ।

भारतले दशगजामा ल्याएर नेपालीहरुलाई खानाको व्यवस्था नगरी राखेको मेचीनगर नगरपालिकाले आरोप लगाएको छ । नगरका प्रमुख विमल आचार्यले उनीहरुलाई तत्काल उद्धार गरेर देशभित्र ल्याउनुपर्ने अवस्था आएको हुँदा राख्नका लागि क्वारेन्टाइनको व्यवस्था गरिरहेको बताउनुभयो ।

आचार्यले जो जहाँ छ उही देशको क्वारेन्टाइनमा राख्ने नेपालसँगको सम्झौता भारतले एकतर्फीरूपमा तोडेको भन्दै शुक्रबार पत्रकार भेटघाटको आयोजना गरी विरोध गर्नुभएको छ । “भारतले नेपालप्रति जहिल्यै पनि हेपाहा प्रवृत्ति देखाउँदै आएको छ”, उहाँले भन्नुभयो, “नेपाली सीमा मिचेर पश्चिम नेपालमा सडक बनाएको घटना होस् या दशगजामा नेपालीलाई ल्याएर भोकभोकै बनाएको घटना होस् ।”

उहाँले भारतमा रहेका नेपालीलाई अमानवीय व्यवहार भएको दोहो¥याउँदै बोर्डरमा अलपत्र बनाइएका सबै नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले नेपाल आउन पश्चिम बङ्गालसँगको प्रमुख नाका काँकडभिट्टा आसपासमा एक हजार २०० नेपाली तयार रहेको जनाउँदै उनीहरुलाई राख्न झापाका १५ वटै पालिकासँग छलफल भइरहेको बताउनुभयो ।

पूर्वी नाकाबाट भित्रिने नेपालीमध्ये मेचीनगर बसोबास भएका सबैलाई नगरले व्यवस्था गरेको क्वारेन्टाइनमा सहजरूपमा राखिने र नगर बाहिरका मानिसलाई काँकडभिट्टा माविमा स्थापना गरिने होल्डिङ सेन्टरमा छोटो समय राखेर उनीहरुको पालिकातिर पठाइने नगरकी उपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।