आँधीखोला गाउँपालिकाद्वारा दोस्रो चरणको राहत वितरण शुरु

0
Shares

भूपराज बस्याल, स्याङ्जा ।

आँधीखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरण कार्यसुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घर परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर दोस्रो चरणको राहत वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो ।

वडा नं ५ मा बुधबार, वडा नं. २ मा बिहिबार, वडा नं १, ३ र ६ मा शुक्रबार तथा वडा नं ४ मा सनिबार राहत वितरण गर्न लागिएको अध्यक्ष पौडेलले बताउनुभयो । राहत सामाग्रीमा अत्यावश्यक खाद्यान्न चामल, दाल, नुन, खाने तेल, चिनी र साबुन वितरण गरिएको हो ।

गाउँपालिकाले पहिलो चरणमा ६ सय ३५ घर परिवारलाई राहत वितरण गरेको थियो भने, दोस्रो चरणमा ३ सय ३० परिवारलाई राहत वितरण कार्य शुरु गरेको गाउँपालिका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताउनुभयो । गाउँपालिकाले संघीय सरकारले तयार गरेको मापदण्ड अनुसार परिवार संख्याका आधारमा आधा र पूरा परिमाणमा राहत वितरण गर्न लागेको हो ।

राहत सामाग्री अन्तर्गत दुईजना सम्मको परिवारलाई १५ किलो चामल, १.५ किलो दाल, १ प्याकेट नुन, साबुन दुईवटा, १ किलो चिनी र १ लिटर तेल वितरण तथा तीन र तीनभन्दा माथिका परिवार संख्या भएका लाई ३० किलो चामल, ३ किलो दाल , २ प्याकेट नुन, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल वितरण गर्न निर्णय कार्यपालिका बैठकले गरेको थियो ।