लमजुङ ५ गते रातिसम्मका लागि सिल

0
Shares

शिक्षा पन्त, लमजुङ ।

जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन लमजुङ जिल्लालाई जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरिएको छ ।

कोरोना संक्रमण बढ्दै गएको र लमजुङमा पनि जोखिम रहेकाले जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले जिल्लालाई जेठ २ गते राति १२ बजेदेखि ५ गते राति १२ बजेसम्म लागु हुने गरी जिल्ला सिल गर्ने निर्णय गरेको हो । उक्त निर्णय शुक्रबार राति १२ बजेबाट लागु हुने छ । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार कोभिड १९ को संक्रमण नियन्त्रणका लागि जेठ २ गते राति १२ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्मका लागि सिल गरिएको हो । अत्यावश्यक कामका लागि अनुमति पाएका सवारी साधन बाहेकका सबै आवागमन बन्द गरिएको छ । एम्बुलेन्स, शववाहन, दमकल, र अत्यावश्यक कामका लागि अनुमति प्राप्त सवारी साधनहरु बाहेक अन्य सवारी साधन तथा मानिसहरुको आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकले लमजुङ भित्र र बाह्य जिल्लाका लागि यसअघि जारी गरिएको इपास लगायत सबै पास खारेज गरेको छ । औषधी पसल र अत्यावश्यक खाद्य सामाग्री विक्री गर्ने पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ला गर्न निर्देशन दिइएको छ । कोभिड १९ जोखिम नियन्त्रण र रोकथामका लागि सुन्दरबजार नगरपालिका ७ स्थित लमजुङ क्याम्पसमा सञ्चालन गरिएको जिल्लास्तरीय क्वारेन्टाइनको नेपाली सेनाको श्रीजंग गणबाट प्रत्यक्ष सहयोगमा व्यवस्थापन भइरहेको छ ।

त्यहाँ प्रत्यक्ष संलग्न हुने स्वास्थकर्मीकोे सुरक्षाका लागि जिल्ला कमाण्ड पोष्टमा रहेको १० थान पीपीई श्रीजंग गणलाई उपलब्ध गराइएको छ । बैंक, वित्तिय संस्था, विमा, सहकारीलगायतका सबै सेवाहरु पनी बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो ।