प्रोपोगान्डा घट्यो महामारी बढ्यो



ओमशंकर श्रेष्ठ, काठमाडौं ।

तीन लाखको हाराहारीमा मानिसको ज्यान लिइसकेको कोभिड–१९ का विभिन्न विशेषता खोज्ने क्रम जारी छ । कुनै विशेष भाषाभाषी, धर्मावलम्बी, जातजाति, धनी वा गरिब नभनीकन सबैतिर आफ्नो मृत्युको ताण्डव नृत्य नचाइरहेको यसको विशेषतामा न्यून प्रचारबाजी पनि देखिएको छ ।

कोरोना भाइरस कहाँबाट आयो भन्ने भन्ने विवादले प्रोपोगान्डाको संकेत गरेको थियो, तर यो शिथिल हुँदै गएको छ । अमेरिकाको राष्ट्रिय गुप्तचर निकायले यो भाइरस प्रयोगशाला निर्मित भएको कुनै ठोस प्रमाण नरहेको र यसबारे अझै अनुसन्धान जारिरहेको बताएको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्प भने भाइरस चीनले नियोजितरूपमै बनाएको भनेर थाकेका छैनन् ।

तर, यही भाइरसका कारण आफ्नै ४ हजार ६ सय नागरिकको ज्यान गुमाइसकेको चीनले आत्मघाती काम किन ग¥यो होला भन्ने प्रश्नको जवाफ कतैबाट आएको छैन । गलत प्रचार अर्थात प्रोपोगाण्डाको कुरा गर्दा महामारीको भयावह अवस्थाका अगाडि यसको मात्रा न्यून नै भन्नुपर्छ ।

विगतमा विश्वयुद्ध होस् वा महामारीका घटना अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा प्रोपोगान्डाको आफ्नो छुट्टै स्थान रहन्थ्यो । यसपटक भने उत्तर कोरियामा त्यहाँका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रियापछि मृत्युसमेत भयो भन्ने प्रचारबाजीबाहेक ठूलो प्रोपोगान्डा, तनाव, अपराध, आतंककारी हमलाका घटनामा वृद्धि भएको पाइएको छैन ।

यस अवधिमा केही मुलुकमा छुरा तथा गोली प्रहार जस्ता छिटपुट आकस्मिक घटनाका कारण केहीले ज्यान भने गुमाए । नाइजरलगायतका मुलुकमा अज्ञात समूहको आक्रमण भयो ।

तर, प्रायः हिंसाग्रस्त रहने अफगानिस्तानका तालिवान लडाकूू, पाकिस्तानका तालिवान लडाकूू, अबु सयाफ, बोको हराम र इस्लामिक स्टेटजस्ता रगतको होली खेल्न रुचाउने समूह कोभिड–१९ को दौरान तुलनात्मकरूपमा धेरै शान्त र संयमित रहेका छन् । लामो समयदेखि युद्धग्रस्त यमन र सिरिया पनि अहिलेको परिस्थितिमा तुलनात्मकरूपमा शान्त नै देखिएका छन् ।

छिमेकी मुलुक भारतमा मुस्लिम र हिन्दूूबीचको साम्प्रदायिक दंगा सन् २००० को गुजरातको भयानक घटनालाई नै बिर्साउने दिशातर्फ अघि बढिरहेको थियो । तर, कोरोना प्रकरणले त्यसलाई पनि विस्तारै मत्थर पारिदियो ।

बरु अहिले हरेक मुलुकका मानव समुदायमा नयाँ मानवताको भावना सञ्चार भएको देखिन्छ । बिल गेट्स, मा ज्याक र बफेट लगायतका विश्वका चर्चित धनाढ्यहरूले मन फुकाएर नै यस महामारीविरुद्ध आर्थिक सहयोग गरेका छन् ।

साथै, हरेक देशमा अहिले अन्तर्राष्ट्रिय रेडक्रस, मानव अधिकारवादी तथा गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका अभियन्ताशरू मात्र नभएर आ–आफ्नो हैसियतले कमसेकम भोकाहरूलाई खाना बाँड्न भए पनि मानिस स्वेच्छाले स्वतःस्फुुर्त परिचालित भएको पाइएको छ ।

कोरोना भाइरस संक्रमणको भयले विभिन्न मुलुकका ठूल्ठूला कारागारमा थुनिएका अपराधीहरूलाई समेत सरकारले खुला छोडिदिँदा पनि विश्वमा अहिले तुलनात्मकरूपमा अपराध नियन्त्रित र न्यून संख्यामा रहेको छ ।

सोमबार मात्रै मेक्स्किोका कुख्यात ग्याङ लिडर ४५ वर्षीय मोइसेस एस्कामिल्ला मेको त्यहाँको एक कारगारमा कोरोना भाइरसकै कारण मृत्यु भएको छ । डरलाग्दो लागूूऔषध कारोवार गर्ने समूह लोस जेतासका नाइके उनी युकातान शहरमा १२ जना मानिसलाई बीभत्स तरिकाले अंगभंग गरी हत्या गरेको अभियोगमा ३७ वर्ष लामो करावास सजाय भोग्दै थिए ।

आर्थिक पक्षलाई यस महामारीले नराम्रो प्रहार गरेको छ । कोलम्बियाली राष्ट्रिय एयरलाइनले आफ्नो कम्पनीलाई कंगाल हुनबाट जोगाउन अमेरिकाको न्युयोर्कस्थित अदालतमा अपिल गरिसकेको छ । त्यसै गरी शेयर बजारमा निकै नोक्सान व्यहोर्नुपरेकाले अर्बपति बफेटले अमेरिकाका प्रमुख एयरलायन्समा रहेको आफ्नो कम्पनीको सम्पूर्ण शेयर बेचिसकेका छन् ।

वास्तवमा यो महामारीले मानवीय संवेदनामा आँधी ल्याएको छ । न्युयोर्कमा आफ्नै आँखासामु एम्बुलेन्सबाट निकाल्न नपाउँदै बिरामीहरू धमाधम मरेको कारुणिक दृश्य देखेर मानसिकरूपमा निकै विचलित हुन पुगेकी महिला डाक्टर लोर्ना एम ब्रिनले आत्महत्या गरेकी छन् ।

तर, लापरबाहीको पक्ष पनि गम्भीर छ । पहिला ‘एसियाली भाइरसले हामी विकसित अमेरिकीलाई केही गर्दैन’ भनेर स्वास्थ्यमा ध्यान नदिने पश्चिमेली मुलुक मात्र होइन ‘हामी बाहिर कतै गएका छैनौं, आउँदैन’ भन्दै तासमा झुम्मिने नेपालीको लापरबाहीले ठूलो मूल्य चुकाउनुपर्ने सम्भावना टरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्