त्रिवि शिक्षण अस्पतालमा ईएनटी सेवा बन्द

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शल्यक्रियाका लागि भर्ना गरिएकी एक बालिकामा कोरोना भाइरस संक्रमण देखिएपछि उत्पन्न परिस्थितिमा त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी सेवा स्थगित हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलवस्तुकी ६ वर्षे बालिकामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

संक्रमण देखिएकी बालिकाको सम्पर्कमा आएका विभागका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीहरु परीक्षण गरी रोग नदेखिए पनि १४ दिन सेल्फ आइसोलेसनमा जानुपर्ने भएकाले सेवा रोकिने भएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाद्धारा जारी विज्ञाप्तिमा इएनटी सेवा स्थगित गर्ने निर्णय भएको जनाईएको छ । साथै विभागीय प्रमुुखहरुको समेत बैठक बसी हाललाई ईएनटी सेवा संचालन गर्न नमिल्ने स्पष्ट पारिएको छ । कार्यकारी दिर्देशकले जारी गर्नूभएको सूचनामा आकस्मिकबाहेकका शल्यक्रिया रोकेर इमर्जेन्सी शल्यक्रिया गर्दा पनि पिपिईको अनिवार्य प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘हाललाई इलेक्टिभ सर्जरीहरू नगर्न अनुरोध गर्दछौं तथा इमर्जेन्सी सर्जरीहरू गर्दा आवश्यक पिपिई लगाएर मात्र गर्नुहुन अनुरोध गरिन्छ’ । अस्पतालद्धारा जारी सूचनामा न्युरो सर्जरी वार्डको बेड नम्बर ५० मा वैशाख ३० गते भर्ना गरिएकी नाक, कान, घाँटीकी बिरामी कोरोना भाइरस पोजेटिभ देखिएको उल्लेख छ ।

अस्पतालले संक्रमित बालिकालाई गणेशमान सिंह भवनको आइसोलेसन क्याबिनमा सारेर उपचार भइरहेको जनाएको छ ।
अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वयगरी बिरामीको प्राइमरी सम्पर्कमा आएकाको कन्ट्रयाक्ट ट्रेसिङ गरेर पिसिआर परीक्षण गर्ने तयारी भइरहेको जनाएको छ ।

त्यसैगरी प्राइमरी कन्ट्रयाकमा आएकाहरू आइसोलेसनमा जाने र अन्य कर्मचारीले नियमित काम गर्नसमेत अस्पताल प्रशासनले अनुरोध गरेको छ ।

अस्पतालले प्रारम्भिक सम्पर्कमा आएकाहरूमा पोजेटिभ देखिएमात्रै सेकेन्डरी सम्पर्कमा आएकाको जाँच गर्नुपर्ने समेत सूचनामा उल्लेख गरेको छ ।