नेपाल औषधि व्यवसायी संघद्वारा ट्राफिक प्रहरी महाशाखालाई मास्क र स्यानिटाइजर हस्तान्तरण

0
Shares

भगवती तिमल्सिना, काठमाडौं । 

कोरोना संक्रमणको महामारीको चपेटामा गुज्रिएको नेपालीहरुको समस्यामा लकडाउनलाई सफल बनाउन ज्यानकै बाजी लगाएर अहोरात्र सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीको जीवन रक्षाका लागि नेपाल औषधि व्यवसायी संघले मास्क र स्यानिटाईजर उपलब्ध गराएको छ ।

औषधि व्यवसायी संघका पदाधिकारीहरु सहितको टोली रामशाहपथ केन्द्रिय कार्यालयमा पुगी ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाललाई भेटी महाशाखाको प्राङगाणमा संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले २ हजार थान मास्क र ४५ लिटर स्यानिटाईजर हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले व्यवसायीहरुले गर्दै आएका काम, कर्तव्यका बारेमा विभिन्न जिल्लाबाट समेत सहयोग पुर्याउँदै आएको जानकारी गराउनुभयो । उहाँले संकटका बेलामा हाम्रो भूमिका सधै सकारात्मक र सहयोगी हुन्छ भन्नुभयो ।

त्यसैगरी ट्राफिक महाशाखाका प्रमुख ढकालले यतिबेला विश्वमानै कोरोना महामारीको संक्रमण फैलिएको छ र सबैको ध्यान यसबाट बच्ने उपायको खोजीतर्फ नै केन्द्रित भैरहेको छ । यस्तो अवस्थामा नेपाल औषधि व्यवसायी संघले लकडाउनको पालन गरिरहनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले हामी सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरु, औषधि व्यवसायी सघ, संचारकर्मीहरु फ्रन्ट लाईनमा बसेर नियमको पालना गर्ने र गराउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छौं ।

एसएसपी ढकालले हामी यसरी सडकमै खटेका छौ यस्तो बेलामा सडकमा खटेका सुरक्षाकर्मीहरुलाई माया गरेर सहयोग गर्नुभएकोमा व्यक्तिगत तथा ट्राफिक महाशाखाको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु भन्नुभयो । कोरोना संक्रमणका कारण हामी पनि आतकिंत हुनुपर्ने अवस्था छ । भर्खरै पनि गृह मन्त्रालयमा बसेको बैठकले लकडाउनलाई अझ कडाईका साथ लागु गर्ने निष्कर्ष निकालेको छ । कडाई गर्नुको मुल उदेश्य भनेको रोकथाम के गर्दा सफल बनाउन सकिन्छ भन्ने नै हो । यस्तो संकटका बेला तपाईहरुले सहयोगको भावना राख्नुभएको छ दिएको सामग्री भन्दा पनि भावना धेरै ठूलो कुरा हो । भोलिका दिनमा पनि सहयोग र सद्भाव कायमै रहोस भन्नुभयो ।

हस्तान्तरण कार्यक्रममा संघका पूर्व केन्द्रीय सदस्य केदार सिजापति, वर्तमान केन्द्रीय सदस्यद्धय मुकुन्द कृष्ण श्रेष्ठ, प्रशान्त मानन्धर, पूर्व महासचिव हरि विडारी, बागमती अञ्चलका उपाध्यक्ष नवराज ढकाल, पूर्व कोषाध्यक्ष पवन श्रेष्ठ, औषधि व्यवसायीहरु शुशिल श्रेष्ठ लगायका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।