वीरगन्जबाट तरकारी र मदिरासहित तनहुँ आएको सवारी फिर्ता पठाइयो

0
Shares

मिला दरै, तनहुँ ।

भारतको बोर्डरबाट तनहुँमा ल्याइएका तरकारी, आलु, प्याज र मदिरासहितको सवारी साधन नियन्त्रण गरी फिर्ता पठाइएको छ । रातको समयमा रक्सौल लगायतका विभिन्न क्षेत्रबाट सामग्रीसहित जिल्लामा प्रवेश गरेका सवारीसाधनलाई नियन्त्रण गरी फर्काइएको व्यास नगरपालिका अनुगमन समितिले जनाएको छ । तरकारी, फलफूल, बालबालिकाका खेलौना, कस्मेटिक सामग्रीमा लुकाएर मदिरा ढुवानी गरेको पाइएको छ ।

व्यास नगरपालिका, तनहुँ उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको संयुक्त अनुगमनका क्रममा रातको समयमा ती सवारीसाधनले सामग्री ढुवानी गरी ल्याउने गरेको र समितिले गण्डकी प्रदेशमा सामग्री आयातमा नियमको उल्लंघन भएको अनुगमन समितिले जनाएको छ । केही सवारी भने कोरोनाको अतिसंक्रमित क्षेत्र बिरगञ्जबाट ल्याइएको पाइएको व्यास नगरपालिका एवं अनुगमन समिति संयोजक मिरा जोशीले बताउनुभयो ।

समितिले ९ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासन कार्यालय तनहुँ, व्यास नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, तनहुँ उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले नियन्त्रणमा दिएको सवारीसाधनलाई मुग्लिन कटाएर फिर्ता भएको बताइएको छ ।

भारतीय व्यक्तिहरु रातारात गण्डकी प्रदेशको नाकाबाट प्रवेश गरी कोभिड १९ को संक्रमण फैलिन सक्ने जोखिम बढेकाले सवारी नियन्त्रणमा लिइ फिर्ता पठाइएको व्यास नगरपालिकाका जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार अनुगमन गर्ने क्रममा भारतबाट भित्रिएका मानिस धेरै भेटिएपछि अनुगमन समितिले रातको समयमा मदिरा सहितको तरकारी, खेलौना, बालबालिकाका लागि खेलौना र साइकल तथा कस्मेटिकका सामग्रीसँगै मानिस ल्याउने गरेको भेटिएको छ । नगरवासीको स्वास्थ्यमा जोखिम आउने भएकाले सामग्री सहित भित्रिएका सवारीसाधन फिर्ता पठाइएको उहाँको भनाई छ ।

‘शुक्रबार मात्रै तरकारी, फलफूल, खाद्यान्नका पसल खुल्नेछ, भारतबाट रासन तथा तरकारीका सामग्रीसँग लुकाएर मदिरा ल्याउनुका साथै मानिस समेत लुकाएर ल्याउने गरेको भेटिएको छ, यसले गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ, नियन्त्रणमा लिइएका सवारी मुग्लिन कटाइएको छ,’ उपप्रमुख जोशीले भन्नुभयो । संक्रमित मानिस नै ल्याइएको हुन सक्ने भएकाले त्रासले तरकारी तथा फलफूल आयात पूर्ण रुपमा बन्द गरिने र शनिबारदेखि ती पसलहरु समेत बन्द गरिने जानकारी दिनुभयो ।

रातारात भारतबाट आउनेको संख्या बृद्धि हुने र लुकीछिपी बस्ने गरेको भन्ने सूचना पाएपछि समितिले अनुगमनलाई तिव्रता दिएको थियो । दिनको समयमा अनुगमन गर्दा सामग्री जिल्ला बाहेक बाहिरबाट नआएको भएपनि रातको समयमा लुकाएर सामग्री सहित मानिस ल्याउने गरेको पाइएको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले बताउनुभयो । झुक्याएर जिल्लामा प्रवेश गर्ने सवारी चालकलाई क्वारेन्टाइनको व्यवस्था गर्ने तयारी समेत गरिएको उहाँले बताउनुभयो ।

‘बोर्डर क्षेत्रबाट तरकारी, जिरा, मसला, गोलभेडासँगै रक्सी लुकाएर ल्याउने र त्यस क्षेत्रबाट समेत मानिस ल्याउने गरेका छन्, त्यसैले सामग्रीसँगै लुकाएर ल्याइएको सामग्री मुग्लिन कटायौं,’ श्रेष्ठले भन्नुभयो । राती २ बजे दुई ट्रक रक्सी र तरकारी, जिरा मसला, बालबालिकाका लागि हुने साइकल रहेको सवारी नियन्त्रण गरिएको उहाँले बताउनुभयो । अनुगमन समितिले ५ वटा मिनिट्रक, २ वटा पिकअप भ्यान, २ ट्रक लोकल रक्सी बोकेको सवारी नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो ।