भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने सर्वदलिय बैठकको निष्कर्ष

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सर्वदलीय बैठकले भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भूभाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ । बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन नसक्ने ठहर गरेको हो ।

बैठकमा सहभागी सवै दलका प्रतिनिधिहरुले भारतले सडक बनाएको भूभाग नेपालको भन्दै अभिमत प्रकट गरेको र त्यसका लागि प्रभावकारी कुटनीतिक कदम चाल्नुपर्ने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रहितमा देखिएको एकताको सम्मान गर्दै पुर्खाले बचाएको नेपाललाई बचाउने र त्यसका लागि सवैको साथ चाहिने बतताउनुभएको थियो ।

भारतसँग आफूहरुले असल सम्बन्ध राख्न चाहेको, कोरोना नियन्त्रणमा भारतले गरेको सहयोग सकारात्मक भएपनि कोरोनाकै बेला भारतले लिपुलेकमा सडक निर्माण गरेर उद्घाटन गर्नु ठिक नभएको प्रधानमन्त्रीको बैठकमाा जानकारी गराउनुभएको थियो ।

प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सर्वदलीय बैठकले कालापानीबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने निष्कर्ष पनि निकालेको छ ।
संसदमा प्रतिनिधित्त्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्रीहरु सर्वदलीय बैठकमा सहभागी थिए । छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवाले काली नदी नै नेपालको सीमा भएको भन्दै कालापानी नेपालकै भएकाले त्यो भूमि फिर्ता गर्न पहल गर्नुपर्ने धराणा राखेको बैठकपछि ज्ञवालीले जानकारी दिनुभयो ।