मानव अधिकार आयोगद्वारा कामदारको स्वास्थ्य सुरक्षामा सजग रहन कतार सरकारलाई सुझाव

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कतारस्थित राष्ट्रिय मानव अधिकार आयोगले कामदार तथा मजदुरहरुको स्वास्थ सुरक्षाका लागि बढी सजग रहन र चेतना अभिवृद्धिमा सक्रियता बढाउन निर्देश गरेपछि कतारी सरकारले सुझाव अनुसारको काम अघि बढाएको छ ।

आयोगले फिल्ड भिजिटका क्रममा त्यस प्रकारको सुझाव दिएको थियो । ‘कामदारहरुले कोरोना भाइरसको महामारीका विषयमा पर्याप्त जानकारी नपाएको’ देखिएको भन्दै सचेतना अभिवृद्धिका लागि आह्वान गरेको हो ।

नेपालस्थित कतारी राजदूतावासले जानकारी गराएअनुसार प्रशासन विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले आयोगको सुझावलाई गम्भीरताका साथ लिएर कारबाही चलाएको जनाएको छ ।

सार्वजनिक स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसहितको आयोगको अनुगमन समितिले स्वास्थ्य हरेक नागरिकको आधारभूत अधिकार भएकाले मुलुकमा रहेका स्वदेशी तथा विदेशी नागरिकले कोभिड–१९ को मारबाट बचाउन राज्यका तर्फबाट सक्रियता बढाउनुपर्ने सुझाव दिएको थियो ।

राज्यका तर्फबाट सघाउँदा संकटापन्न समुदाय, वरिष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दीर्घरोगी, कम आम्दानी भएका मजदुरलाई प्राथमिकतामा राख्नुपर्ने आयोगको भनाइ छ ।

सचेतना अभिवृद्धिका लागि सामाजिक सञ्जाको पनि प्रयोग गरिएको, कामदार र मजदुरलाई लक्षित गरेर कार्यक्रम बनाइएको, क्वारेन्टिनमा रहेका मजदुरको सुविधाका सम्बन्धमा पनि प्रकाश पारिएको कतारी राजदूतावासले जनाएको छ ।
कतारमा पाँच लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् ।