दार्चुलाको उत्तरी सिमा क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ हुने

0
Shares

किरन धामी, दार्चुला ।

सिमा रक्षाको जिम्मेबारी पाएको संगठन सशस्त्र प्रहरी बल नेपालले बर्डर आउट पोष्ट (बिओपी) स्थापना गरी दार्चुलाको उत्तरी सिमा क्षेत्रमा तैनाथ हुने भएको छ । जिल्लाको ब्याँस गाउँपालिका‐१ मा पर्ने गागा क्षेत्रमा बिओपी स्थापना गरि सिमा रक्षाका लागी सशस्त्र प्रहरी बाह्रै महिना तैनाथ हुने सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो ।

विगत देखी नै ६ महिना पुरै सुरक्षा विहिन रहने उत्तरी सिमा क्षेत्रमा बाह्रै महिना सुरक्षा दिन पहिलो पटक सशस्त्र प्रहरीको बिओपी स्थापना हुन लागेको उहाले बताउनुभयो । बिओपी स्थापनाका लागी आवश्यक पर्ने बन्दोबस्तीका सामाग्री, खाद्यान्न, भौतिक संरचना लगायतको व्यवस्थापन गरिसकिएको उहाले जानकारी दिनुभयो । सशस्त्र प्रहरीको बिओपी तत्काल गाउँपालिकाको वडा नम्बर १ छाङरुमा राख्ने गरी सबै तयारी पुरा भएको गुल्मपति बिष्टले बताउनुभयो ।

छाङरु गाउँभन्दा केहि तल पर्ने गागा क्षेत्रमा स्थायी संरचना निर्माण नहुँदा सम्म सशस्त्र प्रहरीको बिओपी छाङरुका एक स्थानियको घरमा भाडामा बस्ने उहाले जानकारी दिनुभयो । सिमा रक्षामा तैनाथ हुने सशस्त्र प्रहरीहरुलाई छाङरु पुर्याउन नेपाली सेनाको हेलिकप्टर आउने जनाइएको छ । सशस्त्र प्रहरीले सिमा क्षेत्रमा हुने अवैध गतिविधि, सिमा रक्षा, ओखेटो पहार ओसार पसार, मानव वेचविखन लगायतका गतिविधिलाई पुर्णरुपमा नियन्त्रण एवं न्युनिकरण गर्ने उहाको भनाई छ ।

‘विगत देखी नै ६ महिना मात्रै राज्यको उपस्थिति रहदै आएको दार्चुलाको उत्तरी सिमा क्षेत्रमा बाह्रै महिना उपस्थिति हुने गरी अबको केहि दिनमै सशस्त्र प्रहरीको बिओपी स्थापना हुन्छ गुल्मपति बिष्टले भन्नुभयो ।’ सशस्त्र प्रहरी प्रधान कार्यालयका प्रमुख सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल ज्यूले सो क्षेत्रमा बिओपी स्थापनाका लागी आवश्यक पर्ने सबै कुराहरु तयारी हालतमा राख्न निर्देशन गर्नु भए अनुसार गुल्मले तयारी पुरा गरेको समेत उहाले बताउनुभयो ।

सशस्त्र प्रहरीलाई ६ महिना पुग्ने खाद्यान्न लगायत अन्य सबै कुराहरु तयारी अवस्थामा राखेको उहाको भनाई छ । ब्याँस क्षेत्रमा बाह्रै महिना बस्न सक्ने गरी यसअघि उच्च पडाही र हिमाली भेगहरुमा परिचालन भएका सशस्त्र प्रहरीहरु बिओपीमा खटाउने गरी तयारी भैइरहेको गुल्मपति बिष्टले जानकारी दिनुभयो । गागाको बिओपीमा सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी परिचालन हुने बताइएको छ । ‘दार्चुलाको उत्तरी क्षेत्र ब्याँसको गागामा बिओपी स्थापना गर्न संगठन प्रमुख ज्यू र ७ नम्बर बाहिनीका बाहिनीपति ज्यू लागी पर्नु भएको छ, दिनदिनै हरेक कुराको जानकारी लिनुहुन्छ गुल्मपति बिष्टले भन्नुभयो ।’

यसैगरी लेकम गाउँपालिकाको लाली र मालिकार्जुन गाउँपालिकाको जोलजिवीमा समेत छिट्टै बिओपी स्थापना गरिने उहाले जानकारी दिनुभयो । यसै हप्ताको आउने बुधबार गागामा बिओपी स्थापनाका लागी गृह मन्त्रालयमा लेखापढी भैइरहेको भन्ने जानकारी प्राप्त भएको उहाले बताउनुभयो । भारतले नेपाली भुमी कालापानी, लिपुलेक हुँदै चिनको तिब्बतमा रहेको धार्मिक तिर्थस्थल कैलाश मानसरोवर सम्म जाने सडक निर्माण गरी उद्घाटन गरेपछि अहिले सिमा रक्षा गर्नु पर्ने आवाजहरु उठिरहेका छन् ।