लकडाउनको मौका छोपी चोरी गर्ने गिरोह पक्राउ

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना भाइरसको कारण मुलुक बन्दाबन्दीमा रहेको मौका छोपी चोरी गर्ने गिरोहका सदस्यहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । यस अघि प्रहरीले बन्दाबन्दीमै सामुहिक बलात्कार गरी फरार रहेका अभियुक्तहरु पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार प्रहरीले कोरोना भाईरसको संक्रमणबाट नागरिकहरुलाई बचाउन लकडाउनको पूर्ण कार्यान्वयन गराउने देखि अपराध हुन नदिन प्रहरी अप्रेसन निरन्तर गरिरहेको बताउनु भयो ।

लकडाउनको अवधीमा प्रहरीले चोरी अभियोगमा संलग्नलाई पक्राउ गरेको छ भने जर्बजस्तिकरणी मुद्दामा फरार ब्यक्तिहरुलाई पक्राउ गरेको छ । साथै राज्यले नेकपा माओवादीको विप्लब समुहका गतिविधि माथी रोक लगाएको अवस्थामा विस्फोट गराई समाजमा आतंक फैलाएको अभियोगमा विप्लब समुहका जिल्ला नेतालाई पक्राउ गरेको छ । जिल्लामा आत्महत्याका घटना बढिरहेकाले आत्महत्या न्यूनिकरण गर्न स्थानीय सरकार मार्फत अभियान संचालन गर्नु पर्नेमा प्रहरी प्रमुख एसपी पौडेलले जानकारी दिनु भयो ।

बैशाख २१ गते रातिको समयमा धुलिखेल नगरपालिका वडा नम्वर ७ बसपार्कमा रहेको किराना पसलको पछाडीको झ्याल फुटाएर पसल भित्र रहेको नगद तथा जिन्सी सहिका सामानहरु चोरी गर्ने समुहका ब्यक्तिहरुलाई प्रहरीले बैशाख २४ गते पक्राउ गर्न सफल भएको छ ।

सोहि पसलबाट ६४ हजार ६ सय ५० रुपैयाको सामान चोरी भएको प्रहरीले जानकारी दिएको छ । चोरी गर्ने समुहमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नम्वर ६ का २२ बर्षिय सुवास मगर, चौतारा साँगाचोकगढी नगरपालिका ०२ हर्रेडाँडाका १९ बर्षिय नक्कले तामाङ, काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका ७ बस्ने २१ बर्षिय सुजन गौतम र चौरीदेउराली गाउँपालिका नार्गे गर्गचे स्थायी घर भई हाल धुलिखेल नगरपालिका ७ बस्ने २१ बर्षिय अनिल प्रधान रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनु भएको छ । प्रहरीले उनिहरुको साथबाट चक्लेट, साबुन, बिस्कुट, स्याम्पु, चुरोट, आलु चिप्स बरामद गरेको छ । प्रतिवादीहरुलाई डाँका तथा चोरी सम्बन्धी कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता थापाले जानकारी दिनु भयो । लकडाउनकै अवस्थामा जिल्लाका विभिन्न स्थानमा चोरी भएका घटना सार्वजनिक भएको छ ।

प्रहरीले गस्ति बढाउँदै चोरी नियन्त्रण गर्ने अभियानमा सक्रिय भएको थापाले बताउनु भयो ।