लिपुलेक विवादमा भारत र चीन दुवै संलग्न : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

लिपुलेक सीमा विवादमा भारत मात्र नभएर चीनसमेत संलग्न रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

लिपुलेकबारे भारत र चीनबीच सम्झौता भएको बताउदै प्रचण्डले यस समस्या त्रिदेशीरुपमा मात्रै हल हुने बताए । सिंहदरबारमा आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहागी भएका प्रचण्डले सीमा विवाद दशकौँदेखिको समस्या भएका कारण अब सबै तथ्यको अध्ययन गरी एउटा ठोस निचोडमा पुग्नुपर्ने जनाएका छन् ।

‘लिपुलेकको सन्दर्भमा चीन र भारतको जे सहमति भयो, संयोगले तुरुन्तै भारत भ्रमणमा जाँदा त्यहाँको उच्च नेतृत्वसँग र चीन जाँदा चीनको नेतृत्वसँग विषय उठाइएको हो, सिमानाको विषयमा चीन, भारत र नेपाललले त्रिपक्षीयरूपमा समस्या समाधान गर्नुपर्ने आवश्यकता टड्कारो भयो भनेर उठाएको थिएँ ।’ प्रचण्डले भने ।

लीपुलेको विषयमा चीन र भारतबीच सम्झौता भएपछि त्रिदेशीय समस्या बन्न पुगेको औँल्याउदै उनले भने, ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय बन्न पुगेको छ, यो दुई वटा देशले मात्र हल गरेर आफ्ट्यारो छ , यसमा चीन पनि संलग्न भएको छ ।’

‘लिपुलेक नेपाली भूभागको हो । सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो भनिएको छ । त्यसपूर्वको सम्पूर्ण भूभाग नेपालको हो । त्यहीअनुसार राजनीतिक र कूटनीतिकरूपमा बहस गर्नुपर्छ ‘ प्रचण्डले भने ।

विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएका कारण हाल समस्याहरु थप जटिल बन्दै गएको उनले बताए ।